झापाबाट ब्राउन सुगरसहित दुई जना पक्राउ
झापा । झापाको झापा गाउँपालिका–१ लसुना क्षेत्रबाट ब्राउन सुगरजस्तो देखिने लागूऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा दमक नगरपालिका–८ रुपाटोलका ३२ वर्षीय इन्द्रप्रसाद गिरी र दमक नगरपालिका–७ नीलकण्ठ टोलकी ३८ वर्षीया सञ्जु खत्री रहेका छन्।
बिहीबार अपराह्न करिब ४ः३० बजे इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको गस्ती टोलीले भारतबाट पैदल नेपालतर्फ आउँदै गरेका उनीहरूलाई शंकास्पद अवस्थामा फेला पारी जाँच गर्दा पक्राउ गरेको हो।
प्रहरीका अनुसार उनीहरूले प्लास्टिकभित्र २७ वटा कालो पोका बनाएर लुकाइछिपाइ ल्याउँदै गरेको अवस्थामा ४४ ग्राम ४६० मिलिग्राम ब्राउन सुगरजस्तो देखिने खैरो लिसाइलो पदार्थ बरामद गरिएको छ।
पक्राउ परेका दुवै जनामाथि लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


