सुनसरीको धरानबाट प्रतिबन्धित लागूऔषध सहित दुई जना पक्राउ
सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका–१७ नमुना मार्गबाट प्रतिबन्धित लागूऔषध ट्याब्लेट तथा क्याप्सुलसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–१७ फोकल्यान्ड बस्ने ३० वर्षीय आङदावा तामाङ र १९ वर्षीय बुद्ध दर्जी रहेका छन्।
प्रहरीका अनुसार असार ११ गते दिउँसो ३ः४५ बजे उक्त क्षेत्रमा लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको पीआईटी र अस्थायी प्रहरी पोस्ट जोरसखुवाबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई चेकजाँच गरेको थियो।
जाँचका क्रममा उनीहरूको साथबाट प्रतिबन्धित लागूऔषध क्यालिबान (Caliban) ४ हजार १८५ ट्याब्लेट र ट्रामोल–५० (Tramol-50) ४ हजार १८५ क्याप्सुल गरी जम्मा ८ हजार ३ सय ७० ट्याब्लेट तथा क्याप्सुल बरामद भएको प्रहरीले जनाएको छ।
बरामद लागूऔषधसहित दुवै जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धरानमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


