पाँचथरमा ट्याक्टर दुर्घटना, चालकको मृत्यु
पाँचथर । पाँचथरमा ट्याक्टर दुर्घटना हुँदा चालकको ज्यान गएको छ। घटना फालेलुङ गाउँपालिका–२ स्थित जिमाहाको भित्री सडकखण्डमा बिहीबार राति करिब ८:३० बजे भएको हो।
प्रहरीका अनुसार पार्किङ गरेर राखिएको मे १ त ३५५६ नम्बरको खाली ट्याक्टर चलाउने क्रममा अनियन्त्रित भई सडकबाट करिब ५ सय मिटर तल खस्दा फिदिम नगरपालिका–३ निवासी २४ वर्षीय राजेश मुखियाको मृत्यु भएको हो। उनी ट्याक्टरका चालक हुन्।
दुर्घटनापछि गम्भीर घाइते भएका मुखियालाई उपचारका लागि जिल्ला अस्पताल फिदिम लगिएको थियो। राति ११:४० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका प्रहरीले जनाएको छ।
उक्त ट्याक्टर मृतकका बुवा होमबहादुर मुखियाको रहेको खुलेको छ। दुर्घटनामा ट्याक्टरमा सवार फालेलुङ–१ ठाडे लसुनेका अन्दाजी ४० वर्षीय योगे भनिने योगबहादुर जबेगू सामान्य घाइते भएका छन्। उनको सोही अस्पतालमा उपचार भइरहेको छ।
घटनापछि प्रहरी टोलीले अनुसन्धान सुरु गरेको छ। प्रारम्भिक अनुसन्धानमा चालकले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) प्राप्त नगरेको खुलेको प्रहरीले जनाएको छ।
दुर्घटनास्थल जिल्ला ट्राफिक प्रहरी कार्यालय पाँचथरबाट करिब ६८ किलोमिटर उत्तर–पश्चिममा पर्ने बताइएको छ।


