सुनसरीमा २०८ ग्राम ब्राउन सुगर सहित दुई जना पक्राउ
सुनसरी, असार १२ । सुनसरीबाट २०८ ग्राम ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर (पीआईटी), लागूऔषध नियन्त्रण ब्यूरो विराटनगर र इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले बराहक्षेत्र नगरपालिका–३ का ३८ वर्षीय विष्णु धामी र सोही स्थानका ३३ वर्षीय रुद्रबहादुर सुबेदीलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार विष्णु धामीले लागूऔषध बिक्री–वितरण गरिरहेको भन्ने विशेष सूचनाका आधारमा असार ११ गते चेकजाँच गर्दा उनले शरीरमा लुकाई–छिपाई राखेको प्लास्टिकका दुई वटा पोकाबाट २०८ ग्राम ब्राउन सुगर बरामद गरिएको थियो।
प्रहरीले धामीको साथबाट नगद एक लाख ८२ हजार पाँच सय रुपैयाँ समेत बरामद गरेको जनाएको छ। लागूऔषध र नगद बरामद भएपछि धामीसँगै घटनामा संलग्न रहेको आरोपमा रुद्रबहादुर सुबेदीलाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


