बोलेरो जिप दुर्घटना हुंदा एकको मृत्यु, २० जना घाइते
स्याङ्जा, असार १२ । स्याङ्जाको वालिङ नगरपालिका–७ लभ्लीडाँडा स्थित मिर्दी–चापाकोट सडकखण्डमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन्।
ताप्केबाट वालिङतर्फ आउँदै गरेको बीएए ७९०५ नम्बरको महिन्द्रा बोलेरो जिप सडक छेउमा पल्टिँदा वालिङ नगरपालिका–७ निवासी २५ वर्षीय राजेन्द्र बिरकट्टाको मृत्यु भएको प्रहरीले जनाएको छ।
जिपमा चालकसहित २२ जना सवार रहेका थिए। दुर्घटनामा २० जना घाइते भएका छन्। घाइतेहरूलाई प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि १७ जनालाई पोखरा र दुई जनालाई बुटवल रिफर गरिएको छ। एक जना बालकको भने प्राथमिक स्वास्थ्य केन्द्र वालिङमै उपचार भइरहेको छ।
पोखरा रिफर गरिएकामध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ। अन्य घाइतेहरूको अवस्था मध्यम रहेको छ। घाइते हुनेहरू स्याङ्जा, रुपन्देही, कास्की र नवलपरासी जिल्लाका रहेको प्रहरीले जनाएको छ।
दुर्घटनापछि बोलेरो जिप चालक वालिङ नगरपालिका–७ निवासी २८ वर्षीय मिनबहादुर सारूलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


