साम्प्रदायिक द्वेष फैलाएको आरोपमा तीन जना पक्राउ
रुकुम पश्चिम — सामाजिक सञ्जालमार्फत साम्प्रदायिक घृणा तथा द्वेष फैलाएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार “Jiban Oli” नामक फेसबुक पेजमार्फत मधेशी मूलका जस्तो देखिने एक व्यक्तिलाई दुर्व्यवहार गरिएको भिडियो सामग्री सार्वजनिक गरी जात, जाति तथा समुदायबीचको सद्भावमा खलल पुर्याउने गतिविधि गरेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
पक्राउ पर्नेमा रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–३ का २८ वर्षीय डिल्ली बहादुर ओली, सोही स्थानका ३१ वर्षीय राजन केसी तथा कपिलवस्तुको कृष्णनगर नगरपालिका–४ शिरसवा स्थायी घर भई हाल रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१ सल्लेमा पाउरोटी उद्योग सञ्चालन गर्दै आएका ३१ वर्षीय रघुबिर कोरी रहेका छन्।
उनीहरूलाई बिहीबार अपराह्न करिब ४:४५ बजे मुसिकोट नगरपालिका–३ माछिमीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार सामाजिक सञ्जालमा आपत्तिजनक भिडियो सामग्री प्रसारण गरी साम्प्रदायिक घृणा वा द्वेष फैलाउने तथा जातीय सद्भावमा असर पार्ने गतिविधिमा संलग्न रहेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


