सुनसरीको धरान स्थित सामुदायिक वनबाट १२० केजी गाँजा बरामद
सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका–२० स्थित च्यानडाँडा सिरान सामुदायिक वनभित्र लुकाइराखिएको अवस्थामा १२० केजी गाँजा बरामद गरिएको छ।
शुक्रबार साँझ करिब ५:२० बजे विशेष सूचनाका आधारमा खटिएको संयुक्त प्रहरी टोलीले वन क्षेत्रभित्र कालो प्लास्टिकमा प्याक गरी बेवारिसे अवस्थामा राखिएको चारवटा पोका फेला पारेको थियो। ती पोकाहरूको तौल गर्दा १२० केजी गाँजा रहेको प्रहरीले जनाएको छ।
बरामद गरिएको गाँजा इलाका प्रहरी कार्यालय धरानमा राखिएको छ। घटनामा संलग्न व्यक्तिको खोजी गर्नुका साथै थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


