ताप्लेजुङमा मजदुरमाथि भएको भनिएको घटनाको छानबिन गर्न ३ सदस्यीय समिति गठन
ताप्लेजुङ, १३ असार । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकामा एक मजदुरमाथि भएको भनिएको घटनाको सत्यतथ्य पत्ता लगाउन जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले ३ सदस्यीय छानबिन समिति गठन गरेको छ।
सामाजिक सञ्जाल फेसबुकको “Neelo Pati” लगायत विभिन्न पेजहरूमा मजदुर विकास लामा माथि भएको भनिएको घटनासम्बन्धी भिडियो सार्वजनिक भएपछि प्रहरीले यस विषयमा गम्भीर चासो व्यक्त गर्दै अनुसन्धान अघि बढाएको हो।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार उक्त भिडियोहरूको वास्तविकता बुझी ५ दिनभित्र प्रतिवेदन पेश गर्न प्रहरी निरीक्षक जटाशंकर यादवको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक उमेश जोशीद्वारा जारी विज्ञप्तिमा समितिको प्रतिवेदनका आधारमा घटनामा संलग्न जो–कोहीलाई कानूनी दायरामा ल्याइने प्रतिबद्धता जनाइएको छ।


