छिमेकी प्रेमीसँग मिलेर पतिको जलाएर हत्या
सञ्जय मिश्रा/असार १४ गते। भारतको उत्तर प्रदेशस्थित बागपत जिल्लामा विवाहबाह्य सम्बन्धका कारण एक महिलाले आफ्नै प्रेमीसँग मिलेर श्रीमानको हत्या गरेको घटना सार्वजनिक भएको छ।
श्रीमानलाई पहिले निद्राको औषधि खुवाएर बेहोस बनाइएपछि पेट्रोल छर्केर आगो लगाइएको प्रहरीले जनाएको छ।
बागपतको बिनौली थाना क्षेत्रअन्तर्गत बिजवाडा गाउँका राजीव आफ्नी श्रीमती निशा उर्फ निशूसँग बस्दै आएका थिए। प्रहरीका अनुसार निशाको आफ्नै छिमेकी विक्रान्तसँग प्रेम सम्बन्ध रहेको थियो। श्रीमान राजीवले उक्त सम्बन्धको लगातार विरोध गर्दै आएका कारण उनीहरूका लागि बाधा बनेको अनुसन्धानबाट खुलेको छ।
प्रहरीका अनुसार गत जुन २० को राति निशा र विक्रान्तले योजनाबद्ध रूपमा राजीवको हत्या गरेका हुन्। निशाले पहिले श्रीमानलाई निद्राको औषधि खुवाएर गहिरो निद्रामा सुताइन्। त्यसपछि प्रेमी विक्रान्तलाई घरमा बोलाएर दुवैले सुतिरहेका राजीवमाथि पेट्रोल छर्केर आगो लगाएका थिए।
आगोले जलेर गम्भीर घाइते भएका राजीवको चिच्याहट सुनेपछि परिवारका सदस्य घटनास्थलमा पुगेका थिए। तर त्यतिबेलासम्म उनी करिब ८० प्रतिशत जलेका थिए। उनलाई तत्काल अस्पताल लगिए पनि अवस्था गम्भीर भएपछि उच्च उपचारका लागि अर्को अस्पतालमा रिफर गरिएको थियो।
सात दिनसम्म जीवन र मृत्युबीच संघर्ष गरेका राजीवको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनालगत्तै प्रहरीले निशा र उनका प्रेमी विक्रान्तलाई पक्राउ गरेको थियो। प्रारम्भमा ‘हत्याको प्रयास’ अन्तर्गत मुद्दा दर्ता गरिए पनि राजीवको मृत्यु भएपछि मुद्दालाई हत्या सम्बन्धी कसुरमा रूपान्तरण गरिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।


