सोलुखुम्बुमा आमाको हत्या आरोपमा छोरा पक्राउ
सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–११ बुस्तिङमा ७९ वर्षीया महिलाको मृत्यु घटनामा संलग्न रहेको आशंकामा प्रहरीले मृतककै छोरालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार असार १२ गते राति करिब ९:१५ बजे सोलुदुधकुण्ड नगरपालिका–११ निवासी ७९ वर्षीया रिन्जी शेर्पा घरमा एक्लै बसिरहेका बेला विद्युत् सर्ट भई आगलागी हुँदा जलेर मृत्यु भएको भन्ने सूचना प्राप्त भएको थियो।
घटनास्थलमा पुगेको प्रहरीले सूक्ष्म अनुसन्धान गर्दा घटनाको प्रकृति शंकास्पद देखिएको थियो। अनुसन्धानका क्रममा मृतक रिन्जी शेर्पाको टाउको तथा हातमा धारिलो हतियार प्रहारबाट गम्भीर चोट लागेको फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीले घटनास्थलबाट वारदातमा प्रयोग भएको आशंका गरिएको खुकुरी एक थान बरामद गरेको छ। साथै, घटनामा संलग्न रहेको आशंकामा मृतकका साइँलो छोरा ४२ वर्षीय आङ दावा शेर्पालाई पक्राउ गरिएको छ।
पक्राउ परेका शेर्पाविरुद्ध कर्तव्य ज्यान कसुरमा जिल्ला अदालत सोलुखुम्बुबाट पाँच दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।


