मोरङमा लागूऔषध सहित चार जना पक्राउ
विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका–१० त्रिबेणी चोकबाट लागूऔषधसहित चार जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार बुधबार राति करिब १०:३० बजे इलाका प्रहरी कार्यालय बेलबारीबाट प्रहरी निरीक्षक राजीव गिरीको कमाण्डमा खटिएको टोलीले शंकास्पद अवस्थामा पैदल हिँडिरहेका चार जनालाई जाँच गर्ने क्रममा उनीहरूको साथबाट लागूऔषध बरामद गरेको हो।
प्रहरीले पक्राउ परेकाहरूको साथबाट ट्रामाडोल २३० पिस र स्पास २३० पिस गरी जम्मा ४६० पिस लागूऔषध फेला पारेको जनाएको छ।
पक्राउ पर्नेमा सुन्दरहरैँचा नगरपालिका–१० का २६ वर्षीय भानुभक्त लिम्बु, २२ वर्षीय विप्लव परियार, २५ वर्षीय किरण राई तथा बेलबारी नगरपालिका–२ का २५ वर्षीय सुशील राई रहेका छन्।
उनीहरूलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बेलबारीमा राखेर लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।


