धरानमा ५ ग्राम ब्राउन सुगर सहित एक पक्राउ
सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका–५ देउरालीबाट प्रहरीले ५ ग्राम ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार शनिबार राति करिब १:१० बजे लागूऔषध कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा कोशी प्रदेश प्रहरी कार्यालय पीआईटी विराटनगर, अस्थायी प्रहरी पोस्ट जोरसखुवा र अस्थायी प्रहरी चौकी देउरालीबाट खटिएको संयुक्त प्रहरी टोलीले धरान–५ निवासी ३२ वर्षीय पर्वत दर्जीको डेरा खानतलासी गरेको थियो।
खानतलासीका क्रममा उनको कोठाबाट ५ ग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थ बरामद भएपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
पक्राउ परेका दर्जीलाई बरामद लागूऔषधसहित इलाका प्रहरी कार्यालय धरानमा राखी लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


