मोरङमा ब्राउन सुगर र लागू औषध ट्याब्लेटसहित दुई जना पक्राउ
विराटनगर, असार २१ — मोरङको सुन्दरहरैचा नगरपालिकाका दुई स्थानबाट प्रहरीले ब्राउन सुगर र लागू औषध ट्याब्लेटसहित दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार असार २० गते राति करिब ९ः३० बजे लागू औषध कारोबार भइरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बेलबारीबाट प्रहरी निरीक्षक राजिव गिरीको नेतृत्वमा खटिएको टोलीले कारबाही गरेको हो।
प्रहरीले सुन्दरहरैचा–१० विराटचोकबाट ३६ वर्षीय जीवन राईलाई पक्राउ गरेको छ। उनको साथबाट ०.२८ ग्राम ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ बरामद भएको प्रहरीले जनाएको छ।
त्यसैगरी, सुन्दरहरैचा–१० बाघझोडाका २६ वर्षीय शुसान्त राईलाई आफ्नै घरअगाडिको करेसाबारीमा जमिनमुनि लुकाइराखिएको NITZASCEN-10 नामक लागू औषधका ३० पत्ता (३०० ट्याब्लेट) सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।
दुवै जनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय बेलबारीमा राखी लागू औषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।


