यि हुन् मोरङको ग्रामथानमा आफ्नै भाउजुलाई खुकुरी प्रहार गरि हत्या गर्ने देवर
विराटनगर । मोरङको ग्रामथान गाउँपालिका–६ झोवाबनीमा देवरले खुकुरी प्रहार गर्दा भाउजूको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
प्रहरीका अनुसार स्थानीय कपिल खवासकी करिब २० वर्षीया श्रीमती सिमा राजवंशीमाथि उनका २१ वर्षीय देवर सौचन खवासले खुकुरी प्रहार गरेका थिए। घाँटीमा गम्भीर चोट लागेकी सीमाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनामा ४७ वर्षीय शिवलाल खवास (ठूलोबुबा) समेत घाइते भएका छन्। उनको दाहिने काँधमा गहिरो चोट लागेको छ। उनको स्थानीय नेता चोकस्थित मेडिकलमा उपचार भइरहेको छ र स्वास्थ्य अवस्था मध्यम रहेको बताइएको छ।
घटनाको जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय हरैंचा र इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले घटनामा प्रयोग गरिएको खुकुरीसहित आरोपित सौचन खवासलाई नियन्त्रणमा लिएको छ।
घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।


