संखुवासभा र पाँचथरबाट बेवारिसे अवस्थामा ५ थान भरुवा बन्दुक बरामद
विराटनगर, असार २३ । कोशी प्रदेशका संखुवासभा र पाँचथर जिल्लामा प्रहरीले बेवारिसे अवस्थामा ५ थान भरुवा बन्दुक बरामद गरेको छ।
संखुवासभाको चैनपुर नगरपालिका–४ धुत्रेखोला स्थित ओडारमा नेपाल प्रहरीको प्रहरी चौकी सिद्धपोखरीबाट गस्तीमा खटिएको टोलीले असार २२ गते १ थान भरुवा बन्दुक र १ थान भरुवा बन्दुकको नाल फेला पारेको हो।
त्यसैगरी, पाँचथरको मिक्लाजुङ गाउँपालिका–२ सराङस्थित खोल्सीमा नेपाल प्रहरीको इलाका प्रहरी कार्यालय रबीबाट स्विप अपरेसनमा खटिएको टोलीले बेवारिसे अवस्थामा ३ थान भरुवा बन्दुक बरामद गरेको प्रहरीले जनाएको छ।
बरामद भएका सबै भरुवा बन्दुक कसले र किन त्यहाँ छाडेको भन्ने विषयमा प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।


