२५ वर्ष कैद सजाय तोकिएका फरार प्रतिवादी मोरङबाट पक्राउ
विराटनगर, असार २३ । कर्तव्य ज्यान मुद्दामा २५ वर्ष कैद र एक लाख रुपैयाँ जरिवाना सजाय तोकिएका फरार प्रतिवादीलाई मोरङ प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार पक्राउ पर्नेमा सोलुखुम्बुको नेचा सल्यान गाउँपालिका–२ निवासी ३६ वर्षीय धुर्वबहादुर भुजेल रहेका छन्।
भुजेल जिल्ला अदालत सोलुखुम्बुको फैसलाअनुसार कर्तव्य ज्यान मुद्दामा २५ वर्ष कैद र एक लाख रुपैयाँ जरिवाना सजाय भुक्तानका क्रममा काठमाडौंस्थित केन्द्रीय कारागार जगन्नाथदेवलमा रहेका थिए। तर, जेन्जी आन्दोलनका क्रममा २०८२ भदौ २४ गते कारागारबाट फरार भएका थिए।
मंगलबार दिउँसो करिब १२:५० बजे उनी मोरङको सुन्दरहरैंचा नगरपालिका–७ गोठगाउँमा लुकीछिपी बसेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी चौकी गछियाबाट खटिएको टोलीले पक्राउ गरेको हो।
पक्राउ परेका भुजेललाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी मोरङ कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।


