शव वाहनको अभावले हजुरआमाको शव सिटी सफारीमा घर पुर्याउन बाध्य
मोरङ । मोरङको कानेपोखरी गाउँपालिका–२, केरौनमा एम्बुलेन्स र शववाहनको अभावका कारण एक परिवारले मृतकको शव सिटी सफारीमार्फत घर लैजान बाध्य भएको घटना सार्वजनिक भएको छ।
स्थानीय घुर्नी ऋषिदेवलाई बेहोस अवस्थामा कानेपोखरी अस्पताल पुर्याइएको थियो। अस्पतालमा चिकित्सकले उनलाई मृत घोषणा गरेपछि परिवारले शव घरसम्म लैजान एम्बुलेन्सको व्यवस्था गर्न खोजेको थियो। तर, शव ओसार्न एम्बुलेन्सले अस्वीकार गरेको परिवारको भनाइ छ।
यस्तै, गाउँपालिकाले सञ्चालन गर्दै आएको ‘घरदेखि घाटसम्म’ शववाहन सेवा पनि बन्द अवस्थामा रहेकाले परिवारले थप सास्ती बेहोर्नुपरेको बताइएको छ। अन्ततः एक सिटी सफारी चालकले मानवता देखाउँदै कुनै शुल्क नलिई शव घरसम्म पुर्याइदिएका थिए।
हजुरआमाको शवसँगै सिटी सफारीमा आँसु पुछ्दै यात्रा गरेका नातिहरू रोशन ऋषिदेव र सुरज ऋषिदेवको दृश्यले स्थानीयवासीलाई भावुक बनाएको छ।
यस घटनाले स्थानीय तहमा एम्बुलेन्स तथा शववाहनजस्ता अत्यावश्यक सेवाको प्रभावकारी व्यवस्थापन आवश्यक रहेको विषयलाई पुनः उजागर गरेको छ।


