यि हुन् खोटाङमा लेनदेन विवादमा खुकुरी प्रहार एक जनाको हत्या गर्ने ब्यक्ति,यसरी परे पक्राउ
खोटाङ, असार २६ । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ मा लेनदेनको विवादका क्रममा खुकुरी प्रहार हुँदा एक जनाको मृत्यु भएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
मृत्यु हुनेमा सोही स्थानका ३५ वर्षीय धुर्ब अधिकारी रहेका छन्। हत्या आरोपमा ५३ वर्षीय तिलकबहादुर मग्राती पक्राउ परेका छन्।
प्रहरीका अनुसार असार २५ गते दिउँसो लेनदेनको विषयमा छलफल गर्न अधिकारी मग्रातीको घर पुगेका थिए। कुराकानीकै क्रममा दुवैबीच विवाद चर्किएपछि आवेगमा आएका मग्रातीले अधिकारीको टाउकोमा खुकुरी प्रहार गरेका थिए। गम्भीर चोट लागेका अधिकारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाको जानकारी प्राप्त हुनासाथ पुगेको प्रहरी टोलीले घटनामा प्रयोग भएको खुकुरीसहित मग्रातीलाई नियन्त्रणमा लिएको थियो।
पक्राउ परेका मग्रातीमाथि जिल्ला प्रहरी कार्यालय खोटाङले हत्या सम्बन्धी कसुरमा थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ।


