विराटनगरमा गाँजा सहित मोटरसाइकल छाडेर पोखरीमा हाम फालेका किशोर मृत फेला
विराटनगर, असार २६ — विराटनगर–१८ भेडियारीमा प्रहरीबाट उम्किन खोज्दा पोखरीमा हाम फालेका १७ वर्षीय किशोर दुई दिनपछि मृत अवस्थामा फेला परेका छन्।
मोरङ प्रहरीका अनुसार शुक्रबार बिहान करिब १०ः३० बजे पोखरीको बीचभागमा तैरिरहेको अवस्थामा भारतको सुपौल जिल्ला गनौरा पञ्चायत–५ निवासी मञ्जितकुमार यादवको शव फेला परेको हो। घटनास्थलमा पुगेको प्रहरीले कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि पठाउने तयारी गरेको जनाएको छ।
यादव बुधबार बिहान करिब ८ः५० बजे प्रहरीले चेकजाँचका क्रममा रोकेको भारतीय नम्बरको बीआर ५० एएल ३६८७ नम्बरको मोटरसाइकल छाडेर पोखरीमा हाम फालेका थिए। त्यसयता सशस्त्र प्रहरीको गोताखोर टोलीसहित खोजी अभियान सञ्चालन गरिएको भए पनि उनी फेला परेका थिएनन्।
घटनाका क्रममा मोटरसाइकलमा सवार अर्का व्यक्ति, भारतको सुपौल जिल्ला निवासी ४१ वर्षीय शिवधर यादवलाई प्रहरीले पक्राउ गरेको थियो। उनले बोकेको झोलाको जाँच गर्दा ६ किलो १३० ग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ।
प्रहरीले पक्राउ परेका शिवधर यादवमाथि लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाएको छ।


