खोटाङमा मजदुरीको पैसा माग्न गएका व्यक्तिको हत्या प्रकरणमा तीन जना पक्राउ
खोटाङ, असार २६ । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ मा मजदुरीको पैसा माग्न गएका एक व्यक्तिको खुकुरी प्रहार गरी हत्या गरिएको घटनामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार असार २५ गते दिउँसो करिब १२ बजे स्थानीय ५७ वर्षीय तिल बहादुर सार्कीको घरमा मजदुरी गरेको रकम माग्न पुगेका सोही स्थानका ३८ वर्षीय ध्रुव भन्ने भक्तबहादुर अधिकारीमाथि धारिलो हतियार खुकुरी प्रहार गरिएको थियो। टाउकोसहित शरीरका विभिन्न भागमा प्रहार हुँदा अधिकारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनापछि खटिएको प्रहरी टोलीले मुख्य आरोपी तिल बहादुर सार्कीलाई असार २५ गते पक्राउ गरेको थियो। त्यसपछि घटनामा संलग्न रहेको आरोपमा ५२ वर्षीया भोटीमाया सार्की र २२ वर्षीया सीता सार्कीलाई असार २६ गते पक्राउ गरिएको प्रहरीले जनाएको छ।
उनीहरूविरुद्ध कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।


