खोटाङमा मजदुरीको पैसा माग्न गएका व्यक्तिको हत्या प्रकरणमा थप दुई जना पक्राउ
खोटाङ । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ मा मजदुरी गरेको रकम माग्न गएका एक व्यक्तिको हत्या प्रकरणमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार असार २५ गते दिउँसो करिब १२ बजे स्थानीय ३८ वर्षीय ध्रुव भन्ने भक्तबहादुर अधिकारी मजदुरी गरेको पैसा माग्न ५७ वर्षीय तिलबहादुर सार्कीको घर पुगेका थिए। सो क्रममा तिलबहादुर सार्की लगायतले धारिलो हतियार खुकुरी प्रहार गरी अधिकारीको हत्या गरेको आरोप छ।
घटनापछि प्रहरीले असार २५ गते तिलबहादुर सार्कीलाई पक्राउ गरेको थियो। त्यसपछि असार २६ गते सोही घटनामा संलग्न रहेको आरोपमा ५२ वर्षीया भोटीमाया सार्की र २२ वर्षीया सिता सार्कीलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका तीनै जनाविरुद्ध कर्तव्य ज्यान मुद्दामा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।


