सोलुखुम्बुमा बेपत्ता महिलाको शव ओडारमा फेला
सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका–१ नेले, तुम्से क्षेत्रबाट बेपत्ता भएकी ३५ वर्षीया कमला विक मृत अवस्थामा फेला परेकी छन्। घटनामा संलग्न रहेको आशंकामा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।
माप्य दुधकोशी गाउँपालिका–४ घर भई हाल थुलुङ दुधकोशी गाउँपालिका–१ नेले, तुम्सेस्थित शर्मिला राईको घरमा डेरा गरी बस्दै आएकी विक गत शुक्रबार बिहान करिब ८:३० बजे गाउँमा कोदो रोप्न जाने भन्दै घरबाट निस्किएकी थिइन्।
साँझसम्म घर नफर्किएपछि र आफन्त तथा चिनजानका कसैसँग पनि सम्पर्क हुन नसकेपछि परिवारले असार १९ गते जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुमा खोजतलासका लागि लिखित निवेदन दिएका थिए।
निवेदन प्राप्त भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गर्ने क्रममा शनिबार साँझ करिब ४:३० बजे थुलुङ दुधकोशी गाउँपालिका–१ तुम्से, कार्मेस्थित रिन्जी शेर्पाको बारी नजिकै रहेको ओडारमा विकको शव फेला पारेको हो।
घटनाको जानकारी पाएलगत्तै प्रहरी निरीक्षकको नेतृत्वमा खटिएको टोलीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल फाप्लु पठाएको छ।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक मौसम तामाङका अनुसार घटनामा संलग्न रहेको आशंकामा एक जनालाई नियन्त्रणमा लिइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


