मोरङमा एक महिलालाई नशालु पदार्थ खुवाएर जबर्जस्ती करणी गरेको आरोपमा तीन जना पक्राउ
मोरङ । मोरङ प्रहरीले एक महिलालाई नशालु पदार्थ सेवन गराई जबर्जस्ती करणी गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार साउन १७ गते विराटनगर महानगरपालिका–५ बस्ने २५ वर्षीया सोनुमा लिम्बुले पीडित महिलालाई योजनाबद्ध रूपमा नशालु पदार्थ सेवन गराएर मोरङको लेटाङ नगरपालिका–१ स्थित ‘हाम्रो रिसोर्ट’मा पुर्याएको आरोप छ।
प्रहरीका अनुसार उक्त घटनामा केराबारी गाउँपालिका–८ निवासी ५० वर्षीय कमलबहादुर आले मगर र सुन्दरहरैँचा नगरपालिका–१० निवासी ३८ वर्षीय डम्बर खतिवडाको पनि मिलेमतो रहेको आरोप छ। रिसोर्टमा लगेर ज्यान मार्ने धम्की दिँदै डम्बर खतिवडाले जबर्जस्ती करणी गरेको आरोप लगाइएको प्रहरीले जनाएको छ।
घटनापछि इलाका प्रहरी कार्यालय लेटाङले तीनै जनालाई पक्राउ गरेको हो। पक्राउ परेकामाथि मोरङ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी जबर्जस्ती करणी मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


