सोलुखुम्बुमा न्वारन पूजामा गएका हजुरबुबाको कुटपिटपछि मृत्यु, नाति पक्राउ
सोलुखुम्बु । सोलुखुम्बुमा न्वारन पूजामा गएका आफ्नै हजुरबुबामाथि कुटपिट गरी हत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।
सोलुदुधकुण्ड नगरपालिका–१ लुदु निवासी करिब ५० वर्षीय कृष्णगोपाल विश्वकर्मा साउन १८ गते सोही स्थानमा बस्ने आफ्ना करिब २३ वर्षीय नाति निरबहादुर विश्वकर्माको घरमा न्वारन पूजामा गएका थिए। सोही क्रममा निरबहादुरले कुटपिट गर्दा कृष्णगोपाल गम्भीर घाइते भएका थिए।
गम्भीर घाइते कृष्णगोपालको उपचारका क्रममा साउन १९ गते मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनामा संलग्न आरोपित निरबहादुर विश्वकर्मालाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


