इट्टा भट्टाको पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु
नेपालगञ्ज — बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१९ भैयापुरस्थित न्यु किसान इट्टा भट्टामा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु भएको छ।
साउन १८ गते बिहान करिब ११:२० बजे इट्टा भट्टाको पर्खाल अचानक भत्किँदा ५२ वर्षीय वर्षादी लोधको घटनास्थलमै मृत्यु भएको थियो भने ४५ वर्षीय राम फेरन कोरी गम्भीर घाइते भएका थिए।
गम्भीर घाइते कोरीलाई उपचारका लागि अस्पताल भर्ना गरिएकोमा साउन २० गते बिहान ३:३० बजे उपचारकै क्रममा उनको पनि मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार वर्षादी लोधको शव पोस्टमार्टमपछि आफन्तको जिम्मा लगाइसकिएको छ भने राम फेरन कोरीको शव पोस्टमार्टमका लागि अस्पतालमा राखिएको छ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।


