मोरङ र पाँचथरबाट लागूऔषध सहित चार जना पक्राउ
विराटनगर, साउन २० । मोरङ र पाँचथरका छुट्टाछुट्टै स्थानबाट प्रहरीले लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ।
साउन १९ गते मोरङको बेलबारी नगरपालिका–१ सिसौलीबाट इलाका प्रहरी कार्यालय बेलबारीको टोलीले बेलबारी–१ निवासी २४ वर्षीय विकास रौनियारलाई पक्राउ गरेको हो। उनको साथबाट प्रतिबन्धित औषधि ट्रामाडोल ४९ ट्याब्लेट र स्पास्पेन ५० ट्याब्लेट बरामद गरिएको प्रहरीले जनाएको छ।
त्यसैगरी, पाँचथरको फिदिम नगरपालिका–१ बरडाँडाबाट जिल्ला प्रहरी कार्यालय पाँचथरको टोलीले फिदिम–१ निवासी ३१ वर्षीय निराजन खतिवडा, २१ वर्षीय एलन नेङबाङ र २६ वर्षीय दिलबहादुर राईलाई पक्राउ गरेको छ। उनीहरूको साथबाट ४० मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ।
पक्राउ परेका चारै जनामाथि लागूऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


