झापामा भन्सार छलीका झण्डै २५ लाख रुपैयाँ बराबरका सामान बरामद
झापा । झापाको मेचीनगर नगरपालिका–७ स्थित फोहोरमैला क्षेत्रमा अवैध रूपमा भारतबाट भन्सार छली गरी भण्डारण गरिएको झण्डै २५ लाख रुपैयाँ बराबरका सामान प्रहरीले बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बुधबार राति करिब १२:१० बजे विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोली र सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा गुल्म काँकरभिट्टाको संयुक्त टोलीले स्थानीय कोपिला तामाङको भान्सा घरमा खानतलासी गरेको थियो।
खानतलासीका क्रममा घरभित्र अवैध रूपमा भन्सार छली गरी राखिएका २० बोरा र १० कार्टुन विभिन्न सामान फेला परेका थिए। बरामद गरिएका सामानमा विभिन्न प्रकारका कपडा, मोटर पार्ट्स तथा इलेक्ट्रोनिक्स सामग्री रहेका छन्।
प्रहरीले बरामद सामानको मूल्य करिब २४ लाख ९९ हजार ८१० रुपैयाँ रहेको जनाएको छ। आवश्यक कानुनी प्रक्रिया पूरा गरी अनुसन्धानका लागि सबै सामान मेची भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।


