दुई यात्रुवाहक सवारी ठोक्किँदा ७ जना घाइते, दुवै चालक नियन्त्रणमा
धनगढी । कैलालीको मोहन्याल गाउँपालिका–७ कुइनेस्थित चिसापानी–कुइने कच्ची सडकखण्डमा फोर्स गाडी र यात्रुवाहक बस एकआपसमा ठोक्किँदा सात जना यात्रु घाइते भएका छन्।
प्रहरीका अनुसार लम्कीबाट कालिकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ज ०८९२ नम्बरको फोर्स गाडी र सोल्टाबाट चिसापानीतर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३१६८ नम्बरको बस ठोक्किएर दुर्घटना भएको हो।
दुर्घटनामा फोर्स गाडीमा सवार १४ यात्रुमध्ये सात जना घाइते भएका छन्। घाइते सबैलाई उपचारका लागि लम्कीतर्फ पठाइएको प्रहरीले जनाएको छ। बसमा सवार अन्य २७ जना भने सकुशल रहेका छन्।
दुर्घटनामा दुवै सवारीसाधनको अगाडिको भागमा क्षति पुगेको भए पनि दुवै चल्ने अवस्थामा रहेका छन्। सडकमा सवारी आवागमन सामान्य रूपमा सञ्चालन भइरहेको प्रहरीले जनाएको छ। घटनापछि दुवै चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान सुरु गरिएको छ।
घाइते हुनेहरूमा कैलालीको लम्कीचुहा नगरपालिका–१ की ५० वर्षीया लक्ष्मी शाही, लम्कीचुहा–५ की ५३ वर्षीया कृष्णा देवी टमटा, सोही स्थानकी ५५ वर्षीया बासु देवी टमटा, कालिकोटको नरहरिनाथ गाउँपालिका–८ का ४८ वर्षीय प्रवे बिष्ट, रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–७ की २१ वर्षीया बिना शाही, उनका १ वर्षीय छोरा लविश चन्द तथा अछामको बिनायक नगरपालिका–८ की २१ वर्षीया निर्मला सञ्ज्याल रहेका छन्।


