चितवनमा २० किलो चरेस सहित दुई जना पक्राउ
चितवन । चितवन प्रहरीले २० किलो चरेससहित दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार साउन २१ गते राति करिब १ बजे इच्छाकामना गाउँपालिका–५ क्षेत्रमा गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मुग्लिङबाट खटिएको प्रहरी टोलीले पैदल हिँडिरहेका दुई जनालाई शंकाको आधारमा जाँच गरेको थियो।
जाँचका क्रममा मकवानपुरको थाहा नगरपालिका–११ निवासी ४१ वर्षीय मोहन गोले र सोही स्थानका ३९ वर्षीय भीमबहादुर स्याङताङले बोकेको झोलाभित्र पहेँलो टेपले बेरिएको चरेसजस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार दुवै जनाको साथबाट २०–२० पोका गरी जम्मा ४० पोका बरामद भएको थियो। नापतौल गर्दा प्रत्येकको साथबाट १०–१० किलोका दरले कुल २० किलो चरेसजस्तो देखिने पदार्थ बरामद भएको हो।
दुवै जनालाई नियन्त्रणमा लिई बरामद पदार्थसहित लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।


