लागूऔषध सहित झापा, मोरङ र सुनसरीबाट १४ जना पक्राउ
विराटनगर । कोशी प्रदेशअन्तर्गत झापा, मोरङ र सुनसरीका विभिन्न स्थानबाट प्रहरीले लागूऔषधसहित १४ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूबाट ब्राउन सुगर, गाँजा तथा विभिन्न प्रकारका प्रतिबन्धित औषधिजन्य ट्याब्लेट र क्याप्सुल बरामद गरिएको प्रहरीले जनाएको छ।
झापाको झापा गाउँपालिका–१ मा इलाका प्रहरी कार्यालय कुमरखोदको टोलीले काभ्रेपलाञ्चोक घर भई हाल शिवसताक्षी नगरपालिका–९ दुधे बस्ने ३० वर्षीय बिराज भुजेललाई १ ग्राम ६७ मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो। त्यस्तै इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाको संयुक्त टोलीले इलामको सूर्योदय नगरपालिका–४ का २६ वर्षीय सलमान थापालाई २ ग्राम ४९० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको छ।
मोरङमा इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्युरो विराटनगरको संयुक्त टोलीले विराटनगर महानगरपालिका–१५ बाट लेटाङ नगरपालिका–२ का १८ वर्षीय सुमित ठकुरी र २५ वर्षीय विकास भुजेललाई १० ग्राम ९४० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ। यस्तै इलाका प्रहरी कार्यालय रंगेलीले धनपालथान गाउँपालिका–२ बाट ९६ किलो १९८ ग्राम गाँजा बरामद गर्दै धनपालथान–१ नोचाका २७ वर्षीय सुमनकुमार साह र २७ वर्षीय अमर साहलाई पक्राउ गरेको जनाएको छ। अर्को घटनामा इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्युरो विराटनगरले बेलबारी नगरपालिका–१ का ३१ वर्षीय अजय साहीलाई ३ ग्राम ८४० मिलिग्राम ब्राउन सुगर तथा को २७ प ७०७१ नम्बरको मोटरसाइकलसहित नियन्त्रणमा लिएको छ।
सुनसरीमा इलाका प्रहरी कार्यालय दुहबीले दुहबी नगरपालिका–५ बाट इटहरी उपमहानगरपालिका–९ का २२ वर्षीय निमा शेर्पालाई १ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय इटहरीले इटहरी–५ का २३ वर्षीय बादल चौधरीलाई ६२० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको छ।
यस्तै इलाका प्रहरी कार्यालय धरानले धरान उपमहानगरपालिका–१३ का २२ वर्षीय अनिष तामाङ, १८ वर्षीया प्रतिमा राजधामी, धरान–१६ का १८ वर्षीय निराजन तामाङ, पाँचथरको फिदिम नगरपालिका–१ का २१ वर्षीय पुरप राना मगर तथा २१ वर्षीय अभिनास थापा मगरलाई ट्रामाडोल ३१३ क्याप्सुल, स्पास्पेन १९५ ट्याब्लेट, स्पास्पेन प्रो १०० ट्याब्लेट र स्पासरेस्ट १० ट्याब्लेटसहित पक्राउ गरेको जनाएको छ।
पक्राउ परेका सबैमाथि लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


