मोरङमा ९६ किलो भन्दा बढी गाँजा सहित दुई जना पक्राउ
मोरङ । मोरङ प्रहरीले ९६ किलो १९८ ग्राम गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार साउन २० गते राति धनपालथान गाउँपालिका–२ क्षेत्रमा नेपालबाट भारततर्फ गाँजा ओसारपसार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय रंगेली, प्रहरी चौकी कर्सिया र प्रहरी चौकी गडेरियाबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँच गरेको थियो।
प्रहरीले शंकास्पद अवस्थामा बीआर–३८एच–८७३३ नम्बरको मोटरसाइकलमा रहेका धनपालथान गाउँपालिका–१ नोचा निवासी २७ वर्षीय सुमनकुमार साह र सोही स्थानका २७ वर्षीय अमर साहलाई नियन्त्रणमा लिएर सोधपुछ तथा अनुसन्धान गरेको थियो।
अनुसन्धानका क्रममा धनपालथान गाउँपालिका–२ भवानीपुरस्थित पटुवाबारीमा लुकाइछिपाइ राखिएको अवस्थामा ९६ किलो १९८ ग्राम गाँजाजस्तो देखिने वनस्पति बरामद भएको प्रहरीले जनाएको छ।
बरामद गाँजा तथा पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय रंगेलीमा राखी लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।


