ताप्लेजुङको मैवाखोलामा ५४ फिट अग्लो ‘सिलाम साक्मा’ प्रतिमा, लिम्बू संस्कृतिको संरक्षणमा नयाँ पहल

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले लिम्बू समुदायको मौलिक सांस्कृतिक प्रतीक ‘सिलाम साक्मा’को संरक्षण, प्रवर्द्धन र प्रचारप्रसार गर्ने उद्देश्यले ५४ फिट अग्लो र ५४ फिट चौडाइको विशाल प्रतिमा निर्माण गरेको छ। भावी पुस्तासम्म सांस्कृतिक सम्पदा हस्तान्तरण गर्ने लक्ष्यसहित प्रतिमा निर्माण गरिएको गाउँपालिकाले जनाएको छ।

गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमका अनुसार सिलाम साक्मा पछिल्लो समय लिम्बू समुदायमा मात्र सीमित नरही विभिन्न सार्वजनिक तथा औपचारिक कार्यक्रममा समेत प्रयोग हुन थालेको छ। यसको ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्वलाई उजागर गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउने उद्देश्यले प्रतिमा निर्माण गरिएको उनले बताए।

लिम्बू भाषामा ‘सि’को अर्थ मृत्यु, ‘लाम’को अर्थ बाटो र ‘साक्मा’को अर्थ छेक्नु भन्ने हुन्छ। लिम्बू समुदायको धार्मिक विश्वासअनुसार सिलाम साक्माले मृतात्माको बाटो छेक्ने, जीवित व्यक्तिलाई सकारात्मक ऊर्जा, स्वास्थ्य, स्फूर्ति र उच्च मनोबल प्रदान गर्ने विश्वास रहिआएको छ।

गाउँपालिकाको प्रशासकीय केन्द्र साँघुमा हालै सम्पन्न जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताका अवसरमा पनि ५४–५४ फिटको विशाल सिलाम साक्मा निर्माण गरी प्रदर्शन गरिएको थियो। वर्गाकार स्वरूपमा तयार गरिएको उक्त प्रतिमासँगै विभिन्न आकारका सिलाम साक्मा प्रदर्शनीमा राखिएपछि स्थानीयवासी र बाह्य आगन्तुकको आकर्षण बढेको गाउँपालिकाले जनाएको छ।

प्रतियोगिताका लागि निर्माण गरिएको अस्थायी संरचनापछि सोही स्थानमा स्थायी सिलाम साक्मा प्रतिमाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। लिम्बू समुदायले आफ्नो सांस्कृतिक पहिचानको प्रतीकका रूपमा प्रयोग गर्दै आएको सिलाम साक्मा धार्मिक तथा सांस्कृतिक अनुष्ठानमा फेदाङ्मा, येबा, साम्बा र बिजुवाले बाँसको सिन्का तथा उनीको धागो प्रयोग गरेर बनाउने परम्परा रहिआएको छ। लिम्बू थाक्थुङ मुन्धुमअनुसार यसको विशेष धार्मिक तथा आध्यात्मिक महत्व रहेको विश्वास गरिन्छ।

पछिल्ला वर्षहरूमा बाँस, धागो तथा विभिन्न धातुबाट सिलाम साक्मा निर्माण गरी घर, कार्यालय र सार्वजनिक स्थलमा राख्ने चलनसमेत बढ्दै गएको छ। गाउँपालिकाले प्रतिमा निर्माणमार्फत लिम्बू संस्कृतिको मौलिक पहिचानलाई थप प्रवर्द्धन गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्ने अपेक्षा गरेको छ।-रेडियो काबेली

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।