धनकुटाबाट दुई जना सहित कोशीका तीन जिल्लाबाट लागूऔषध सहित ८ जना पक्राउ
विराटनगर, साउन २२ गते । कोशी प्रदेशका झापा, मोरङ र धनकुटाका विभिन्न स्थानबाट प्रहरीले प्रतिबन्धित लागूऔषधसहित आठ जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार साउन २१ गते गरिएको चेकजाँचका क्रममा झापाको इलाका प्रहरी कार्यालय सुरुङ्गाले कनकाई नगरपालिका–४ निवासी मिलन गुरुङलाई ३८० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो।
त्यसैगरी इलाका प्रहरी कार्यालय अनारमनीको टोलीले बिर्तामोड नगरपालिका–५ का इकवाल अन्सारी, बाह्रदशी गाउँपालिका–४ का मनोज राजवंशी र बाह्रदशी गाउँपालिका–३ की धनकुमारी राजवंशीलाई १९० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
यस्तै, मोरङको इलाका प्रहरी कार्यालय रानीले धरान–३ का राजेश खड्की र धरान–१५ का विजय तामाङलाई ३९ वटा नाइट्रोजन ट्याब्लेटसहित पक्राउ गरेको छ।
उता धनकुटाको इलाका प्रहरी कार्यालय पाख्रिबासले चेकजाँचका क्रममा महालक्ष्मी नगरपालिका–५ का समिर राई र सङ्खुवासभाको खाँदबारी नगरपालिका–९ का सौजन लिम्बुलाई १४४ क्याप्सुल ट्रामाडोलसहित नियन्त्रणमा लिएको जनाएको छ।
पक्राउ परेका सबैविरुद्ध लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


