कोशी प्रदेश प्रहरी प्रमुख खनालद्वारा प्रहरी कर्मचारीसँग परिचयात्मक भेटघाट तथा अन्तरक्रिया
विराटनगर, साउन २२ गते । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) शेखर खनालले कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरमा कार्यरत सिनियर प्रहरी अधिकृतदेखि आधारभूत तहसम्मका प्रहरी कर्मचारीसँग परिचयात्मक भेटघाट तथा अन्तरक्रिया गर्नुभएको छ।
साउन २२ गते प्रदेश प्रहरी कार्यालयको सभाहलमा आयोजित कार्यक्रममा डीआईजी खनालले प्रहरी कर्मचारीहरूले राखेका समस्या, गुनासा, जिज्ञासा तथा सुझावहरू गम्भीरतापूर्वक सुन्दै संगठनको नीति, कानुनी व्यवस्था र उपलब्ध स्रोत–साधनका आधारमा यथोचित सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
उहाँले संगठनभित्र अनुशासन, व्यावसायिकता, पारदर्शिता, जवाफदेहिता र सेवामुखी कार्यशैलीलाई थप सुदृढ बनाउन निर्देशन दिँदै सबै प्रहरी कर्मचारीलाई व्यक्तिगत सुरक्षा र स्वास्थ्यप्रति पनि सधैं सचेत रहन आग्रह गर्नुभयो।
डीआईजी खनालले नागरिकको विश्वास जित्ने सबैभन्दा बलियो आधार इमानदार, निष्पक्ष र प्रभावकारी प्रहरी सेवा भएको उल्लेख गर्दै प्रत्येक प्रहरी कर्मचारीले उच्च मनोबल, नैतिक आचरण र जिम्मेवारीबोधका साथ आफ्नो कर्तव्य निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो। साथै, संगठनभित्र आपसी समन्वय, सहकार्य र सकारात्मक कार्यसंस्कृतिको विकासले प्रहरी संगठनलाई अझ सक्षम र जनउत्तरदायी बनाउने विश्वास व्यक्त गर्नुभयो।
सोही अवसरमा महिला प्रहरी कर्मचारीसँग छुट्टै अन्तरक्रिया कार्यक्रम पनि आयोजना गरिएको थियो। कार्यक्रममा महिला प्रहरी कर्मचारीहरूले आफ्ना अनुभव, समस्या, गुनासा तथा सुझाव प्रस्तुत गरेका थिए।
महिला प्रहरी कर्मचारीलाई सम्बोधन गर्दै डीआईजी खनालले आधुनिक प्रहरी संगठनमा महिला प्रहरीको भूमिका अपरिहार्य, प्रभावकारी र सम्मानित रहेको बताउनुभयो। उहाँले पेशागत क्षमता अभिवृद्धि, नेतृत्वदायी भूमिकामा सहभागिता र जिम्मेवारी निर्वाहमा आत्मविश्वासका साथ अघि बढ्न प्रेरित गर्दै कार्यसम्पादनका क्रममा देखिएका समस्या र गुनासालाई प्राथमिकताका साथ सम्बोधन गरिने विश्वास दिलाउनुभयो।
प्रदेश प्रहरी कार्यालयका अनुसार यस्ता अन्तरक्रियात्मक कार्यक्रमले प्रहरी नेतृत्व र कर्मचारीबीच आत्मीय सम्बन्ध विकास गर्नुका साथै कर्मचारीका समस्या तथा गुनासाको समयमै समाधान गर्न सहयोग पुग्ने भएकाले यसलाई निरन्तरता दिइँदै आएको छ।


