८९ वर्षीया वृद्धाको सुनको रिङ लुट्ने १९ वर्षीय पक्राउ
बागलुङ, साउन २२ । बागलुङको वरेङ गाउँपालिकामा ८९ वर्षीया वृद्धाको कानबाट सुनको रिङ लुट्ने आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार साउन २१ गते बिहान करिब ११ बजे वरेङ गाउँपालिका–३ बाटाकाचौर मजुवास्थित आफ्नै घरको आँगनमा बसेकी ८९ वर्षीया मैसरी काउचालाई सोही ठाउँका १९ वर्षीय सन्दिप रुचालले डरधाक र धम्की दिई बायाँ कानमा लगाएको ४.३८ ग्राम तौलको सुनको रिङ लुटेर फरार भएका थिए।
घटनाको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय वरेङबाट खटिएको प्रहरी टोलीले रुचाललाई नियन्त्रणमा लिएको हो।
प्रहरीले साउन २२ गते बागलुङ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।


