कोशीका विभिन्न जिल्लाबाट प्रतिबन्धित लागूऔषध सहित सात जना पक्राउ
विराटनगर । कोशी प्रदेशका विभिन्न जिल्लाबाट प्रहरीले प्रतिबन्धित लागूऔषध सहित सात जनालाई पक्राउ गरेको छ।
साउन २२ गते जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको टोलीले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ वालिङस्थित मध्यपहाडी लोकमार्गको जंगलमा शंकास्पद अवस्थामा रोकिराखिएको प्रदेश १–०२–००२ ख ००८३ नम्बरको ट्रक जाँच गरेको थियो। ट्रकको चालक बस्ने भाग र पछाडिको डालाबीच फल्स बटम बनाई लुकाइराखेको अवस्थामा १ हजार ३१५ किलो गाँजा फेला परेपछि ट्रक नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
त्यस्तै, इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्युरो विराटनगरको संयुक्त टोलीले विराटनगर महानगरपालिका–१५ स्थित सुनसरी आयल्स ट्रेडर्स अगाडिबाट भारत बिहारको अररिया जिल्ला जोगवनीका २२ वर्षीय साहिल पाण्डे र मोरङको बेलबारी नगरपालिका–११ का ५३ वर्षीय प्रकाश राईलाई १४ ग्राम २७० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ।
सुनसरीको इनरुवा नगरपालिका–३ गुद्री लाइनबाट जिल्ला प्रहरी कार्यालय सुनसरी र लागूऔषध नियन्त्रण ब्युरो विराटनगरको संयुक्त टोलीले इनरुवा नगरपालिका–९ का २६ वर्षीय मनोज उराव र ३२ वर्षीय सदाम अन्सारीलाई २ हजार ७ सय क्याप्सुल प्रतिबन्धित ट्रामाडोलसहित नियन्त्रणमा लिएको छ।
यसैगरी, इलामको माई नगरपालिका–१ पाल्टारबाट प्रहरीले कुसुन्डा जबेगु र हेमराज मगरलाई ५ ग्राम ६५ मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ।
झापाको प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको टोलीले कमल गाउँपालिका–४ का २७ वर्षीय रिङ्वाङ लिम्बुलाई २ ग्राम ६ मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ।
पक्राउ परेका सबैमाथि सम्बन्धित प्रहरी कार्यालयबाट लागूऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


