९१ किलोभन्दा बढी गाँजा सहित एक पक्राउ, चार जना फरार
सिरहा । सिरहामा प्रहरीले ९१ किलो २५ ग्राम गाँजासहित एक जनालाई पक्राउ गरेको छ। गाँजा ओसारपसारमा संलग्न चार जना भने फरार भएका छन्।
सखुवानान्कारकट्टी गाउँपालिका–४ स्थित सिमराको बलान खोलामा साउन २३ गते राति करिब २ः३० बजे इलाका प्रहरी कार्यालय महेशवारी र इलाका प्रहरी कार्यालय लहानबाट खटिएको संयुक्त गस्ती टोलीले पाँच जनालाई प्लास्टिकका पाँचवटा बोरामा गाँजा बोकेर ओसारपसार गरिरहेको अवस्थामा फेला पारेको थियो।
प्रहरी टोलीलाई देखेपछि उनीहरूले बोरा फालेर भाग्ने प्रयास गरेका थिए। सो क्रममा प्रहरीले एक जनालाई नियन्त्रणमा लिन सफल भएको हो।
पक्राउ पर्नेमा सिरहाको भगवानपुर गाउँपालिका–४ जमुवा टोलका अन्दाजी ४३ वर्षीय मोहन साह रहेका छन्। उनको साथबाट ९१ किलो २५ ग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ।
फरार चार जनामध्ये दुई जनाको पहिचान खुलेको छ। फरार हुनेमा भगवानपुर गाउँपालिका–४ जमुवा टोलका अन्दाजी ४३ वर्षीय कलेन्द्र यादव र सोही स्थानका अन्दाजी ४५ वर्षीय ब्रह्म यादव रहेका छन्। बाँकी दुई जनाको नाम, थर तथा वतन खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
फरार व्यक्तिहरूको खोजी भइरहेको छ भने पक्राउ परेका साहमाथि आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।


