डंकी : सपनाको कालबाटो ! भ्रम, विस्थापन र मानवीय अस्तित्वको दस्तावेज(समीक्षा)

तोमनाथ उप्रेती । साहित्यको सर्वोच्च दायित्व समयको अदृश्य पीडालाई भाषामा अनुवाद गर्नु हो। महान् कृतिहरू युगको अन्तःकरण लेख्छन्। तिनले पात्रभन्दा बढी सभ्यताको मनोविज्ञान उजागर गर्छन्। यस अर्थमा डा. चन्द्र गिरीको उपन्यास डंकी : सपनाको कालबाटो समकालीन नेपाली समाजको सामूहिक मनोविज्ञानको गहिरो दस्तावेज हो। यो पुस्तक अवैध आप्रवासनको यात्रालाई केन्द्रमा राखेर लेखिएको भए पनि यसको वास्तविक विषय मानिसको भ्रम, पहिचान, अस्तित्व, विस्थापन, आशा र निराशाबीचको शाश्वत द्वन्द्व हो। यहाँ अमेरिका आधुनिक मानव सभ्यताले निर्माण गरेको स्वर्गको मिथक हो। त्यस मिथकतर्फ दौडिरहेको मानिस वास्तवमा आफ्नो भविष्य खोजिरहेको हुँदैन; ऊ आफ्नो वर्तमानबाट भागिरहेको हुन्छ।

प्रसिद्ध रुसी साहित्यकार फ्योदोर दोस्तोएभ्स्कीले भनेका छन्, “मानिसहरू नयाँ पाइला चाल्न र नयाँ शब्द बोल्न सबैभन्दा बढी डराउँछन्।” तर डंकी पढिसकेपछि मनमा अनगिन्ति गहिरा प्रश्नहरू जन्मिन्छ मानिस कहिलेकाहीँ डरभन्दा पनि ठूलो भ्रमको बन्दी कसरी बन्छ? किन ऊ मृत्यु निश्चित देखिने बाटोलाई नै जीवनको अन्तिम सम्भावना ठान्छ? किन आफ्नै जन्मभूमिको माटो, आफ्नै भाषा, आफ्नै स्मृति र आफ्नै पहिचानलाई पछाडि छोडेर अपरिचित जंगल, उफ्रिएका नदी, दलदल र मरुभूमितर्फ आफ्नो सम्पूर्ण अस्तित्व दाउमा लगाउन तयार हुन्छ? यी प्रश्नहरू आधुनिक मानव सभ्यताको आत्मिक संकटका प्रश्न हुन्। यही कारण डंकी आशा र भ्रम, स्वप्न र यथार्थ, जीवन र मृत्यु तथा पहिचान र विस्थापनबीचको गहिरो दार्शनिक संवादमा रूपान्तरित हुन्छ।

उपन्यासले पाठकलाई अन्तःकरणको कम्पनमा डोर्‍याउँछ। यहाँ मान्छेको धैर्य र निराशाबीचको अदृश्य विभाजन हो। जंगल सभ्यताको आवरण च्यातिएपछि देखिने आदिम मानवीय अवस्थाको प्रतीक हो। यात्रा आशाको उज्यालो खोज्दै भ्रमको अन्धकारमा हराइरहेको मानव नियतिको यात्रा हो। यही कारण डंकी पढ्नु एउटा कथा पढ्नु मात्र होइन, आफ्नै समयको नैतिक, सामाजिक र अस्तित्वगत संकटसँग साक्षात्कार गर्नु पनि हो। यो उपन्यासले अन्ततः पाठकलाई एउटा असहज तर अनिवार्य प्रश्न छोड्छ सपनाको मूल्य आखिर कति हुन सक्छ र यदि त्यसको मूल्य आफ्नै अस्तित्व हो भने, त्यो सपना वास्तवमै सपना रहन्छ कि केवल मृत्युको अर्को नाम बन्छ? यस कृतिको उपशीर्षक “सपनाको कालबाटो” स्वयंमा गहिरो रूपक हो। यहाँ कालबाटो आधुनिक विश्वव्यवस्थाले निर्माण गरेको अदृश्य सुरुङ हो, जहाँ मानिसले उज्यालोको खोजीमा अन्धकार रोज्छ। सपनाको नाममा सुरु भएको यात्रा अन्ततः आफ्नै पहिचान गुमाउने यात्रामा परिणत हुन्छ। यसैले यो उपन्यास आप्रवासनको कथा मात्र नभई आधुनिक सभ्यताले उत्पादन गरेको मोह, लोभ, असन्तोष र अस्तित्वगत रिक्तताको कथा हो।

पूर्वीय दर्शनमा भगवान् गौतम बुद्धले दुःखको मूल कारण तृष्णा माने। मानिसको अनन्त चाहनाले नै दुःख जन्माउँछ। डंकी को सम्पूर्ण कथा यही तृष्णाको आधुनिक संस्करण हो। पात्रहरू अमेरिका खोजिरहेका छैनन्, उनीहरू दुःखबाट मुक्त हुने भ्रम खोजिरहेका छन्। तर बुद्धले भनेझैँ तृष्णाले मुक्ति होइन, नयाँ बन्धन सिर्जना गर्छ। उता चिनियाँ दार्शनिक लाओ-त्सेले प्रकृतिविरुद्धको अत्यधिक महत्त्वाकाङ्क्षालाई असन्तुलनको कारण मानेका थिए। उनका अनुसार मानिसले बाटोलाई जित्न खोजेपछि ऊ बाटोमै हराउँछ। डंकी का पात्रहरू पनि प्रकृतिसँग संघर्ष गर्दैनन्। उनीहरू आफ्नै महत्त्वाकाङ्क्षासँग संघर्ष गर्छन्। जंगल उनीहरूको शत्रु होइन। वास्तविक शत्रु उनीहरूको भ्रम हो। त्यसैले ड्यारियन ग्यापको दलदलभन्दा भयावह दलदल मानिसको चेतनामै निर्माण भएको देखिन्छ। ड्यारियन ग्यापको दलदल एउटा सभ्यता र असभ्यताबीचको सीमारेखा हो। यहाँ दलदलले केवल पाइला डुबाउँदैन। मान्छेका सपना, पहिचान र अस्तित्वलाई पनि बिस्तारै निल्दै जान्छ। हरेक पाइला मृत्युसँग गरिएको सम्झौता हो। घना वर्षावन, विषालु जीव, अनियन्त्रित नदी, भोक, तिर्खा र हिंसाले भरिएको यो दलदल आधुनिक विश्वको सबैभन्दा निर्मम आप्रवासन मार्गको प्रतीक बनेको छ। यहाँ मानिसले आफ्नो नामभन्दा पहिले आफ्नो ज्यान जोगाउन सिक्नुपर्छ। मानवीय मूल्यहरू दलदलमा गाडिन्छन् र बाँच्ने प्रवृत्ति मात्र बाँकी रहन्छ। त्यसैले ड्यारियन ग्यापको दलदल केवल प्राकृतिक भूगोल होइन; यो भ्रमले जन्माएको मानवीय त्रासदी, विस्थापनको दर्शन र सभ्यताको नैतिक असफलताको जीवित रूपक हो।

(तोमनाथ उप्रेती)

पाश्चात्य अस्तित्ववादसँग तुलना गर्दा यो उपन्यासको वैचारिक क्षितिज अझ स्पष्ट हुन्छ। अल्बेर काम्युले जीवनलाई निरर्थकतासँगको विद्रोह भनेका थिए। द मिथ अफ सिसिफस मा उनले मानिसले निरर्थक संसारमा अर्थ निर्माण गर्नुपर्ने तर्क दिएका छन्। तर डंकी का पात्रहरू अर्थ निर्माण गर्दैनन्, उनीहरू अरूले निर्माण गरेको अर्थको पछाडि कुद्छन्। अमेरिका उनीहरूको आफ्नै सपना होइन; समाजले उनीहरूमा रोपिदिएको सपना हो। यही कारण उनीहरूको यात्रा स्वतन्त्र निर्णयभन्दा बढी सामूहिक भ्रमको परिणाम बन्छ।

त्यसैगरी फ्रान्ज काफ्काका पात्रहरू जस्तै यहाँका पात्रहरू पनि एउटा अदृश्य प्रणालीका कैदी हुन्। द ट्रायल मा जोसेफ के. ले आफ्नो अपराध कहिल्यै थाहा पाउँदैन। डंकी का पात्रहरूले पनि आफ्नो अपराध बुझ्दैनन्। उनीहरूले कुनै कानुन तोडेका छैनन्, उनीहरूले केवल राम्रो जीवनको सपना देखेका छन्। तर त्यो सपना नै उनीहरूको सजाय बन्छ। यही बिन्दुमा उपन्यास आधुनिक विश्वव्यवस्थाको निर्मम आलोचना बन्छ।

लेखकको सबैभन्दा ठूलो शक्ति उनको अनुभवको प्रामाणिकता हो। डा. चन्द्र गिरी विश्वप्रसिद्ध वैज्ञानिकका रूपमा प्रत्यक्ष अनुसन्धानमा आधारित लेखन गर्ने व्यक्तित्व हुन्। पनामाको ड्यारियन ग्यापमा पुगेका, त्यहाँ नेपालीहरूको वास्तविक पीडा देखेका र त्यसलाई साहित्यमा रूपान्तरण गरेका कारण उपन्यासमा कृत्रिमता देखिँदैन। यहाँ प्रत्येक दृश्य अनुसन्धानको विश्वसनीयता र साहित्यको संवेदनशीलताको अद्भुत संयोजन बनेर आएको छ। तथ्य र अनुभूति एकअर्काका विरोधी होइनन्, उनीहरू यहाँ परस्पर पूरक छन्।

कथाको प्रारम्भ इलामको सलकपुरबाट हुनु पनि अत्यन्त प्रतीकात्मक छ। सलकपुर पाली जीवनको निर्दोष आरम्भ हो। सुन्तलाको बगैँचा, पहाडी हावा, गाउँको आत्मीयता र परिवारको न्यानोपन विस्तारै कथाबाट ओझेल पर्दै जान्छ। त्यसपछि सुरु हुन्छ भूगोलको विस्तार, तर जीवनको सङ्कुचन। पात्रहरू देश–देश घुम्छन्, तर आफूभित्र झन् एक्लिँदै जान्छन्। दूरी बढ्छ, सम्बन्ध घट्छ। यही विरोधाभासले उपन्यासको भावात्मक ऊर्जा निर्माण गर्छ।

कथाको संरचना परम्परागत उपन्यासभन्दा फरक छ। यसमा नियात्रा, संस्मरण, डायरी, अनुसन्धान र आख्यान एकै ठाउँमा मिसिएका छन्। यस प्रकारको संरचना उत्तरआधुनिक आख्यानशैलीसँग नजिक देखिन्छ। लेखकले कथालाई अनुभवका तहहरू क्रमशः खोल्दै लैजान्छन्। पाठकले कथा पढिरहेको अनुभवभन्दा बढी यात्रामा सहभागी भएको अनुभूति गर्छ। जंगलको सन्नाटा, नदीको गर्जन, दलदलको भय, भोकको पीडा र मृत्युको गन्ध पाठकले प्रत्यक्ष महसुस गर्न थाल्छ। यही संवेदनात्मक प्रभाव नै कृतिको सबैभन्दा ठूलो कलात्मक उपलब्धि हो।

यस अर्थमा डंकी एउटा यात्रावृत्तान्त पनि होइन, केवल सामाजिक उपन्यास पनि होइन, न त राजनीतिक आख्यान। यो ती सबै विधाको सीमाना पार गरेर मानव अस्तित्वको दार्शनिक महाकाव्य बन्न सफल भएको कृति हो। यसको केन्द्रमा अमेरिका छैन, मानिस छ। यसको केन्द्रमा सीमा छैन, चेतना छ। यसको केन्द्रमा यात्रा छैन, यात्राभित्र हराएको आत्माको खोज छ।

साहित्यमा पात्रहरू एउटा युगको अन्तःकरण बोकेका जीवित प्रतीक हुन्छन्। महान् उपन्यासमा पात्रहरू व्यक्तिगत सीमाभन्दा माथि उठेर सभ्यताको प्रतिनिधि बन्छन्। डंकी : सपनाको कालबाटो का पात्रहरू पनि यही अर्थमा महत्त्वपूर्ण छन्। उनीहरू कुनै समकालीन नेपाली युवाको सामूहिक मनोविज्ञान हुन्। उनीहरूभित्र आशा छ, अभाव छ, मोह छ, विद्रोह छ, निराशा छ र अन्ततः अस्तित्वको भयावह एकान्त पनि छ।

पशुपति, जसलाई लेखकले आत्मीय रूपमा ‘पस्पते’ बनाएका छन्, उपन्यासको प्रमुख पात्र मात्र होइन ऊ एउटा पुस्ताको प्रतिनिधि हो। ऊ अमेरिका जान चाहन्छ। तर ऊ वास्तवमा अमेरिका खोजिरहेको छैन। ऊ सम्मान खोजिरहेको छ। ऊ आर्थिक सुरक्षा खोजिरहेको छ। ऊ परिवारको भविष्य खोजिरहेको छ। अझ गहिराइमा जाने हो भने ऊ आफ्नै असफल वर्तमानबाट मुक्त हुने एउटा वैकल्पिक भविष्य खोजिरहेको छ। यही कारण पस्पतेको यात्रा भूगोलको यात्रा कम र चेतनाको यात्रा बढी बन्छ।
यहाँ एउटा गहिरो दार्शनिक प्रश्न उठ्छ। मानिस किन घर छोड्छ?

पूर्वीय दर्शनमा घर चेतनाको आधार हो। उपनिषद्हरूले “आत्मानं विद्धि” अर्थात् आफूलाई चिन भन्ने आग्रह गर्छन्। घर छोड्नु भनेको कहिलेकाहीँ आफ्नै पहिचानबाट टाढा जानु पनि हो। डंकी यही विडम्बनाको कथा हो। पात्रहरू आफ्नो भाग्य बदल्न निस्कन्छन्। तर बाटोमा उनीहरूको नाम, भाषा, संस्कृति, स्मृति र पहिचान क्रमशः खिइँदै जान्छ। अन्त्यमा बाँकी रहन्छ केवल एउटा थाकेको शरीर।

जर्मन दार्शनिक मार्टिन हाइडेगरले मानिसलाई ‘बिइङ–इन–द–वर्ल्ड’ (संसारभित्रको अस्तित्व) का रूपमा व्याख्या गरेका छन्। उनका अनुसार मानिस आफ्नो ठाउँ, आफ्नो समय र आफ्ना सम्बन्धबाट अर्थ प्राप्त गर्छ। जब त्यो सम्बन्ध टुट्छ, अस्तित्वमा गहिरो रिक्तता जन्मिन्छ। डंकी का पात्रहरू यही रिक्तताका यात्री हुन्। उनीहरू सीमाना पार गर्छन्। तर प्रत्येक सीमासँगै उनीहरूको अस्तित्व पनि केही-कुछ भत्किँदै जान्छ। यस उपन्यासको सबैभन्दा सशक्त पात्र वास्तवमा कुनै मानिस होइन। ड्यारियन ग्याप आफैं एउटा पात्र हो।

साहित्यमा कहिलेकाहीँ स्थान पनि चरित्र बन्छ। जस्तै, हार्ट अफ डार्कनेसमा अफ्रिकाको जंगल स्वयं सभ्यताको अँध्यारो अन्तःकरण बनेर उपस्थित हुन्छ। त्यसैगरी डंकी मा ड्यारियन ग्याप एउटा जंगल मात्र होइन। त्यो मानव सभ्यताको नैतिक परीक्षणस्थल हो। त्यहाँ पुगेर राष्ट्र हराउँछ। कानुन हराउँछ। आधुनिकता हराउँछ। बाँकी रहन्छ केवल आदिम मानिस।

घना वन, दलदल, अविरल वर्षा, भोक र मृत्यु यी सबै डङ्की उपन्यासमा सभ्यताको चम्किलो आवरण च्यातिएपछि देखिने मानवीय अस्तित्वका नाङ्गा यथार्थका सशक्त प्रतीक हुन्। यहाँ वनले दिशाहीनता, दलदलले भ्रम र मोहको कैद, अविरल वर्षाले निरन्तर पीडा, भोकले सभ्यताको कृत्रिम नैतिकताको विघटन र मृत्युले सपनाको अन्तिम मूल्यलाई प्रतिनिधित्व गर्छ। जब मानिस राज्य, कानुन, भाषा र सामाजिक संरचनाको संरक्षणबाट बाहिर फालिन्छ, तब ऊ जीवित रहन संघर्षरत आदिम प्राणीमा सीमित हुन्छ। ड्यारियन ग्यापको निर्मम भूगोलले यही कठोर सत्य उद्घाटित गर्छ। सभ्यताको वास्तविक परीक्षा सुरक्षित सहरमा होइन, जीवन र मृत्युबीचको त्यस्तो सीमारेखामा हुन्छ, जहाँ मानिससँग आफ्नो अस्तित्वबाहेक जोगाउन अर्को केही बाँकी रहँदैन। यहाँ प्रकृति शत्रु मात्र होइन; मानवीय अहङ्कार, कृत्रिम सपना र सभ्यताको खोक्रोपनलाई निर्ममतापूर्वक अनावृत गर्ने मौन दार्शनिक साक्षी पनि हो।

लेखकले जंगललाई कहिल्यै रोमाञ्चक बनाएका छैनन्। उनी त्यसलाई पर्यटकीय दृष्टिले हेर्दैनन्। जंगल यहाँ मृत्युको विश्वविद्यालय हो। त्यहाँ प्रत्येक पाइला एउटा परीक्षा हो। प्रत्येक रात एउटा सम्भावित अन्त्य हो। प्रत्येक बिहान एउटा अप्रत्याशित पुनर्जन्म हो।

यही कारण डङ्कीको सबैभन्दा ठूलो कलात्मक उपलब्धि अनुभूतिको पुनर्सिर्जनामा निहित छ। लेखकले पाठकलाई अनुभवको सहयात्री बनाउँछन्। पाठकले जंगल पढ्दैन, जंगलभित्र आफ्नो अस्तित्व हराएको महसुस गर्छ। उसले भोकबारे जानकारी प्राप्त गर्दैन, भोकको निर्दयी रिक्ततालाई आफ्नै शरीरभित्र अनुभव गर्छ। उसले त्रासको वर्णन मात्र पढ्दैन, त्राससँगै प्रत्येक पाइला चाल्छ, प्रत्येक नदी तर्छ र प्रत्येक रात मृत्युको सास सुन्छ। यही बिन्दुमा आख्यान पाठ्य सामग्री रहँदैन; जीवित अनुभूतिमा रूपान्तरित हुन्छ। शब्दहरूले चेतनाको भित्री तहमा संवेदनाको पुनर्जन्म गराउँछन्। यही सौन्दर्यात्मक शक्ति नै डङ्कीलाई सामान्य सामाजिक यथार्थको अभिलेखभन्दा माथि उठाएर अस्तित्व, विस्थापन र मानवीय नियतिको गहन दार्शनिक आख्यानका रूपमा स्थापित गर्छ। यहाँ पाठक पुस्तक बन्द गरेपछि पनि कथा समाप्त हुँदैन; बरु कथा उसकै अन्तर्मनमा निरन्तर बाँचिरहन्छ।

डा. चन्द्र गिरीको भाषाशिल्पबारे विशेष चर्चा आवश्यक छ। उनको भाषा अत्यधिक अलङ्कारिक छैन। तर अत्यन्तै दृश्यात्मक छ। वाक्यहरू छोटा छन्। तर अर्थका तहहरू गहिरा छन्। भाषाले कथालाई बोकेको छैन, कथाले भाषालाई जन्माएको छ। यस्तो भाषाशैली आधुनिक विश्वसाहित्यमा निकै प्रभावकारी मानिन्छ।

यस दृष्टिले हेर्दा लेखकको शैलीमा अर्नेस्ट हेमिङ्वेको आइसबर्ग थ्योरीको स्मरण गराउने अद्भुत सरलता र संयम देखिन्छ। सतहमा वाक्यहरू छोटा, स्वाभाविक र निर्व्याज छन्। तर ती वाक्यहरूको सतहमुनि अनुभूतिको विशाल समुद्र लहराइरहेको छ। लेखकले सबै कुरा स्पष्ट रूपमा उद्घाटित गर्दैनन्। धेरै कुरा मौनमै छोडिदिन्छन्। त्यही मौनले पाठकको चेतनामा सबैभन्दा गहिरो प्रतिध्वनि उत्पन्न गर्छ। नबोलिएका शब्दहरूले बोलेका वाक्यभन्दा बढी अर्थ सिर्जना गर्छन्। यही संयमित अभिव्यक्ति र सूक्ष्म संकेतात्मकताले उपन्यासलाई कलात्मक परिपक्वता प्रदान गरेको छ।

उपन्यासभरि प्रयोग भएका प्रतीक र रूपकहरू अत्यन्त सन्तुलित, स्वाभाविक र अर्थबहुल छन्। यहाँ जंगल सभ्यताको अन्तिम परीक्षा हो। दलदल अन्धमहत्त्वाकाङ्क्षाले तिर्नुपर्ने मूल्यको प्रतीक हो। नदी केवल जीवन र मृत्युबीचको अदृश्य सीमारेखा हो। रेलको छत आशाले समातेको अन्तिम किनारा हो। मरुभूमि अन्तहीन प्रतीक्षा, एकाकीपन र अस्तित्वगत रिक्तताको रूपक हो। यस्ता प्रतीकहरूले आख्यानलाई घटनाको विवरणबाट उठाएर दार्शनिक अनुभूतिमा रूपान्तरण गरेका छन्। पाठकले दृश्य मात्र देख्दैन; प्रत्येक प्रतीकभित्र लुकेको जीवनदर्शन पनि पढ्न थाल्छ।

विशेषतः ‘चिच्याउने एक थुँगा चाहना’ जस्ता उपशीर्षकहरूले लेखकको काव्यिक संवेदनशीलता र भाषिक सृजनशीलतालाई उजागर गर्छन्। चाहना आफैँ चिच्याउने वस्तु होइन। तर यहाँ चाहनालाई जीवित चेतना प्रदान गरिएको छ। यही मानवीकरणले अमूर्त भावनालाई सजीव अनुभवमा बदलिदिन्छ। मौन पीडाले आवाज पाउँछ, अदृश्य आकाङ्क्षाले अनुहार पाउँछ र अव्यक्त वेदनाले भाषा पाउँछ। परिणामतः उपशीर्षकहरू केवल अध्यायका नाम भएर सीमित रहँदैनन्; ती सम्पूर्ण आख्यानको भावात्मक नाडीका रूपमा स्थापित हुन्छन्।

कृतिमा प्रकृतिको चित्रण पनि उल्लेखनीय छ। पूर्वीय चिन्तन परम्परामा प्रकृति सधैँ ज्ञान, शान्ति र आत्मबोधको स्रोत मानिएको छ। जापानी हाइकु परम्पराले प्रकृतिलाई मौन गुरुका रूपमा सम्मान गर्‍यो। तर डङ्कीमा प्रकृतिको स्वरूप पूर्णतः भिन्न छ। यहाँ प्रकृति न गुरु हो, न संरक्षक। ऊ निष्पक्ष परीक्षक हो। उसले कसैप्रति दया देखाउँदैन, कसैलाई विशेष सुविधा पनि दिँदैन। उसको आफ्नै कठोर नियम छ। जसले ती नियम बुझ्न सक्दैन, ऊ बाँच्दैन। यस अर्थमा उपन्यासको प्रकृति करुणामयी नभई अस्तित्वको निर्मम परीक्षणस्थल बनेर उपस्थित हुन्छ, जहाँ मान्छेले आफ्नो साहस, सीमा र वास्तविक मानवीय स्वरूपसँग प्रत्यक्ष साक्षात्कार गर्नुपर्छ।

यस अर्थमा प्रकृति यहाँ नैतिक रूपमा तटस्थ छ। निर्दयी पनि छैन। दयालु पनि छैन। ऊ केवल आफ्नो नियममा चल्छ। यही दृष्टिकोण आधुनिक पारिस्थितिक दर्शनसँग पनि मेल खान्छ।

उपन्यासमा सबैभन्दा मर्मस्पर्शी दृश्यहरू मध्ये एउटा हराएको बालक मार्कोको प्रसङ्ग हो। “मार्को! मार्को!” भन्दै कराइरहेकी आमाको आवाज सम्पूर्ण उपन्यासकै सबैभन्दा गहिरो मानवीय क्षण हो। त्यो एउटी आमाको रुवाइ मात्र होइन। त्यो आधुनिक आप्रवासनले हराइरहेको सम्पूर्ण मानवताको विलाप हो।यस दृश्यले सोफोक्लिसका ग्रीक दुःखान्तहरूको स्मरण गराउँछ, जहाँ कुनै एक पात्रको व्यक्तिगत पीडा क्रमशः सम्पूर्ण मानवजातिको साझा नियतिमा रूपान्तरित हुन्छ। हराएको बालकलाई खोज्दै आमाले गरेको करुण पुकार संसारभरका विस्थापित, असहाय र सपना गुमाएका मानिसहरूको सामूहिक रुदनमा परिणत हुन्छ। यही क्षणमा कथा व्यक्तिगत अनुभवको सीमाबाट बाहिर निस्केर सार्वभौमिक मानवीय त्रासदीको उचाइमा पुग्छ। पाठक कुनै पात्रप्रति मात्र सहानुभूति राख्दैन, ऊ स्वयं मानवीय नियतिको अपरिहार्य पीडा र असहायतासँग प्रत्यक्ष साक्षात्कार गर्न पुग्छ।

यही प्रसङ्गमा रवीन्द्रनाथ ठाकुरको मानवीय दर्शन विशेष रूपमा स्मरणीय हुन्छ। उनका अनुसार सभ्यताको अन्तिम मूल्य मानवीय प्रेम, करुणा र आत्मीयता हो। जहाँ प्रेम हराउँछ, त्यहाँ विकासका सबै सूचकहरू अर्थहीन बन्छन्। यही सत्यलाई डंकी ले कुनै दार्शनिक घोषणापत्रका रूपमा होइन, बरु पात्रहरूको मौन पीडा, विछोड र असहायतामार्फत अत्यन्त प्रभावकारी ढङ्गले अभिव्यक्त गरेको छ। यहाँ डलरको मूल्य निरन्तर बढ्दै जान्छ, तर मानिसको मूल्य क्रमशः घट्दै जान्छ। आर्थिक आकाङ्क्षाले मानवीय सम्बन्धलाई विस्थापित गर्छ। परिवार स्मृतिमा सीमित हुन्छ। मातृभूमि सम्झनामा बाँच्छ। र अन्ततः मानिस आफ्नो अस्तित्वसँगै अपरिचित बन्न पुग्छ। यही कारण उपन्यासले सम्पन्नताको परिभाषालाई नै पुनः प्रश्न गर्छ। यदि समृद्धिको मूल्य मानवीय संवेदनाको क्षय हो भने, त्यो समृद्धि वास्तवमा एउटा गहिरो आध्यात्मिक गरिबी मात्र हो।
उपन्यासको अर्को उल्लेखनीय पक्ष यसको राजनीतिक संयमता र वैचारिक परिपक्वता हो। लेखक कुनै राजनीतिक विचारधाराको प्रवक्ता बन्दैनन्। कुनै दल वा सरकारलाई प्रत्यक्ष दोषारोपण गर्दैनन्। न त उनी सुधारका नाराहरू लेख्छन्, न कुनै घोषणापत्र प्रस्तुत गर्छन्। बरु उनी यथार्थका दृश्यहरूलाई यति संयमित र विश्वसनीय ढङ्गले प्रस्तुत गर्छन् कि ती दृश्यहरू आफैँ प्रश्नमा रूपान्तरित हुन्छन्। यही साहित्यको नैतिक शक्ति हो। महान् साहित्यले अन्तःकरणलाई जागृत गर्छ। डंकी पनि यही परम्पराको सशक्त कृति हो। यसले पाठकलाई आफ्नै विवेकसँग संवाद गर्न बाध्य बनाउँछ। यही कारण यो उपन्यास समकालीन नेपाली समाजको मौन आत्मालोचना र मानव सभ्यताको नैतिक परीक्षणका रूपमा स्थापित हुन्छ।

फ्रान्सेली चिन्तक रोलाँ बार्थले आफ्नो चर्चित अवधारणा ‘लेखकको मृत्यु’ मार्फत साहित्यको अर्थ लेखकले होइन, पाठकले निर्माण गर्ने तर्क अघि सारेका थिए। उनका अनुसार कुनै पनि कृति लेखकको नियन्त्रणमा अन्तिम रूपमा बाँधिएको हुँदैन। पाठकले आफ्ना अनुभव, स्मृति, संवेदना र सांस्कृतिक चेतनाका आधारमा त्यसको अर्थ पुनः सिर्जना गर्छ। यही दृष्टिबाट हेर्दा ‘डंकी : सपनाको कालबाटो’ पनि एउटै निश्चित निष्कर्षमा सीमित रहने उपन्यास होइन। यसको अर्थ प्रत्येक पाठकसँगै बदलिन्छ। कसैले यसलाई अवैध आप्रवासनको त्रासदीका रूपमा पढ्छ। कसैले गरिबी र असमानताको दस्तावेजका रूपमा बुझ्छ। कसैले आधुनिक सभ्यताले निर्माण गरेको उपभोगवादी भ्रममाथिको गहिरो प्रश्नका रूपमा ग्रहण गर्छ। लेखकले कुनै निष्कर्ष थोपर्दैनन्। उनी जीवनका कठोर दृश्यहरू प्रस्तुत गर्छन्। बाँकी निर्णय पाठकको विवेकमा छोडिदिन्छन्। यही साहित्यको नैतिक स्वतन्त्रता हो।

यसै कारण ‘डंकी’ पढिसकेपछि पाठकको स्मृतिमा अमेरिका सबैभन्दा बलियो रूपमा बस्दैन। बरु उसले आफ्नै गाउँको साँघुरो गोरेटो सम्झन्छ। आमाको अनुहार सम्झन्छ। बाबुको पसिना सम्झन्छ। बाल्यकालको आँगन सम्झन्छ। आफ्नो घरको धुलो सम्झन्छ। आफ्नो माटोको सुगन्ध सम्झन्छ। अनि सायद धेरै वर्षपछि पहिलो पटक आफ्नै अस्तित्वसँग भेट गर्छ। उपन्यासको सबैभन्दा ठूलो उपलब्धि यही हो कि यसले पाठकलाई कुनै परदेशतिर होइन, आफ्नै अन्तरात्मातिर फर्काइदिन्छ। अन्ततः महान् साहित्यको विजय यही हो उसले नयाँ संसार देखाउनु मात्र होइन, आफ्नै संसारलाई नयाँ आँखाले हेर्न सिकाउनु हो।

महान् उपन्यासको अन्तिम सफलता कथाको रोचकताले मापन हुँदैन, त्यसले पाठकको चेतनामा कति लामो समयसम्म प्रश्न जीवित राख्छ भन्ने कुराले मापन हुन्छ। डंकी : सपनाको कालबाटो त्यस्तै प्रश्नहरूको उपन्यास हो। यो पढिसकेपछि कथा समाप्त हुन्छ, तर प्रश्नहरू सुरु हुन्छन्। किन मानिस आफ्नो जन्मभूमिभन्दा मृत्युको बाटो रोज्छ? किन आधुनिक विश्वले समृद्धिको यस्तो मिथक निर्माण गर्यो, जहाँ मानिस आफ्नो अस्तित्व नै दाउमा लगाउन तयार हुन्छ? किन घरबाट सुरु भएको यात्रा अन्ततः घरकै खोजीमा टुङ्गिन्छ? यिनै प्रश्नहरूले यस कृतिलाई नेपाली आप्रवासनको कथाभन्दा धेरै माथि उठाएर समकालीन सभ्यताको दार्शनिक समीक्षा बनाइदिन्छ।

साहित्यको इतिहासमा यात्रा केवल भूगोलको परिवर्तन होइन; चेतनाको रूपान्तरण पनि हो। ओडिसीमा ओडिसियस युद्ध जितेपछि घर फर्किन दशकौँ संघर्ष गर्छ। डिभाइन कमेडीमा दान्ते नरक, शुद्धीकरण र स्वर्गका तहहरू पार गर्दै अन्ततः आत्मिक आलोकमा पुग्छन्। सिद्धार्थमा सिद्धार्थ बाहिरी संसारका असंख्य अनुभव पार गरेपछि अन्ततः आफ्नै अन्तरात्माको सत्यमा फर्किन्छन्। डंकीले पनि यात्राकै कथा भन्छ, तर यसको यात्रा विस्थापनको यात्रा हो। यहाँ यात्राले कुनै नायक निर्माण गर्दैन। यसले भ्रमलाई भत्काउँछ, सपनाको मूल्य देखाउँछ र मान्छेलाई आफ्नै अस्तित्वसँग कठोर साक्षात्कार गराउँछ। उपन्यासको अन्त्यमा कुनै विजेता उभिँदैन। बाँकी रहन्छ केवल थाकेको मानिस, घाइते स्मृति र रूपान्तरित चेतना।

यसै सन्दर्भमा टी. एस. इलियटको प्रसिद्ध विचार अत्यन्त सान्दर्भिक देखिन्छ। उनका अनुसार मानिसको सम्पूर्ण खोज अन्ततः त्यहीँ पुगेर टुङ्गिन्छ, जहाँबाट यात्रा सुरु भएको थियो; तर त्यस ठाउँलाई उसले पहिलो पटक वास्तविक रूपमा चिन्छ। डंकीको मूल दार्शनिक निष्कर्ष पनि यही हो। पात्रहरू अमेरिका पुगेर मात्र नेपाललाई गहिरो रूपमा बुझ्न थाल्छन्। दूरीले माटोको मूल्य सिकाउँछ। विस्थापनले पहिचानको अर्थ खोलिदिन्छ। अभावले सम्बन्धको गरिमा उजागर गर्छ। अन्ततः उनीहरूले खोजेको गन्तव्य कुनै विदेशी भूमि होइन, आफ्नै अस्तित्वको हराएको केन्द्र रहेछ भन्ने अनुभूति हुन्छ। यही अनुभूतिले उपन्यासलाई आप्रवासनको कथाभन्दा माथि उठाएर आत्मपहिचान, स्मृति र मानवीय अस्तित्वको दार्शनिक आख्यानमा रूपान्तरण गरेको छ।

पूर्वीय दर्शनको केन्द्रबिन्दु आन्तरिक जागरण हो। बुद्धले राजदरबार त्यागे, तर संसार जित्न होइन; आफूलाई बुझ्न घर त्याग्छन्। डंकी का पात्रहरूले पनि घर त्याग्छन्। तर उनीहरूको यात्रा विपरीत दिशामा छ। उनीहरू आत्मबोधतर्फ होइन, उपभोगतर्फ उन्मुख छन्। यही कारण उनीहरूको यात्रा मोहको यात्रा बन्छ। यस अर्थमा उपन्यासले बुद्धको मध्यम मार्ग को अनुपस्थितिलाई आधुनिक उपभोक्तावादी समाजको दुःखान्तका रूपमा चित्रण गरेको छ।

उपन्यासको अर्को महत्त्वपूर्ण विमर्श पहिचान हो। मानिस उसको भाषा, स्मृति, संस्कार, सम्बन्ध र माटोसँगको सम्बन्धले उसको पहिचान निर्माण गर्छ। जब मानिस अवैध बाटोबाट देश–देश घुम्छ, ऊ केवल सीमा पार गरिरहेको हुँदैन, ऊ क्रमशः आफ्ना पहिचानका तहहरू पनि गुमाउँदै जान्छ। यही कारण पात्रहरू अमेरिका पुगेर पनि पूर्ण रूपमा पुगेका हुँदैनन्। उनीहरू शारीरिक रूपमा सुरक्षित हुन सक्छन्, तर सांस्कृतिक रूपमा विस्थापित भइसकेका हुन्छन्।

यस सन्दर्भमा एडवर्ड सइदको निर्वासनसम्बन्धी अवधारणा अत्यन्त उपयोगी हुन्छ। उनका अनुसार निर्वासन स्मृति र वर्तमानबीचको स्थायी द्वन्द्व हो। डंकी का पात्रहरू पनि दुई संसारका बीचमा झुण्डिएका मानिस हुन्। उनीहरू पुरानो संसारमा फर्कन सक्दैनन्। नयाँ संसारमा पूर्ण रूपमा समाहित पनि हुन सक्दैनन्। यही बीचको रिक्तता नै उनीहरूको सबैभन्दा ठूलो पीडा हो।

कृतिमा आधुनिक पूँजीवादी सभ्यताको सूक्ष्म आलोचना पनि अन्तर्निहित छ। अमेरिका यहाँ कुनै राजनीतिक राष्ट्रभन्दा बढी विश्वव्यापी आकाङ्क्षाको ब्रान्ड बनेर उपस्थित हुन्छ। मानिसहरू डलरको खोजीमा निस्कन्छन्। तर डलरले उनीहरूको समय, सम्बन्ध, संस्कृति र मानसिक शान्तिको मूल्य चुकाउन सक्दैन। यस बिन्दुमा उपन्यासले एउटा गहिरो नैतिक प्रश्न उठाउँछ समृद्धि के हो? धनको परिमाण, कि जीवनको गरिमा?

कृतिको सबैभन्दा प्रभावशाली पक्ष यसको नैतिक संयम हो। लेखकले कुनै पात्रलाई आदर्श बनाएका छैनन्। कसैलाई खलनायक पनि बनाएका छैनन्। दलालहरू छन्। लुटेराहरू छन्। पीडितहरू छन्। तर सबैभन्दा ठूलो अपराधी भ्रमको संस्कृति हो। यही कारण उपन्यास कुनै राजनीतिक भाषणमा रूपान्तरण हुँदैन। यो मानवीय संवेदनाको दस्तावेज बनेर रहन्छ।

भाषाशिल्पको दृष्टिले पनि डंकी समकालीन नेपाली उपन्यासमा उल्लेखनीय स्थान राख्छ। लेखकको भाषा एकैसाथ वैज्ञानिक र काव्यात्मक छ। दृश्यहरू तथ्यपरक छन्। तर अनुभूति कविताजस्तै तरल छ। प्रकृतिको चित्रणमा सूक्ष्म अवलोकन छ। संवादमा जीवनको सहजता छ। प्रतीकहरू कृत्रिम छैनन्; कथाबाट स्वाभाविक रूपमा जन्मिएका छन्। यस्तो शैलीले पाठकलाई भावुक मात्र बनाउँदैन; बौद्धिक रूपमा पनि सक्रिय बनाउँछ।

यद्यपि समालोचनात्मक दृष्टिले केही सीमाहरू पनि औँल्याउन सकिन्छ। कतिपय स्थानमा यात्राको भूगोल, मार्ग, प्रशासनिक प्रक्रिया र भौतिक विवरण अपेक्षाकृत लामो भएका कारण आख्यानको भावात्मक प्रवाह केही सुस्त भएको अनुभूति हुन्छ। त्यस्तै केही पात्रहरू अझ गहिरो मनोवैज्ञानिक विस्तार पाउन सक्थे। विशेषतः महिला पात्रहरूको अन्तर्यात्रा थप विकसित भएको भए कृतिको बहुआयामिकता अझ सशक्त बन्न सक्थ्यो। तथापि यी पक्षहरूले कृतिको समग्र साहित्यिक गरिमालाई उल्लेखनीय रूपमा कम गर्दैनन्। बरु यिनले भविष्यका संस्करण वा आगामी सिर्जनाका सम्भावनालाई संकेत गर्छन्।

समग्र मूल्याङ्कन गर्दा डंकी : सपनाको कालबाटो समकालीन नेपाली साहित्यमा आप्रवासन, विस्थापन र अस्तित्वको प्रश्नलाई गम्भीर दार्शनिक उचाइमा पुर्‍याउने दुर्लभ कृति हो। यसले पाठकलाई मनोरञ्जन दिन खोज्दैन, अस्वस्थ बनाउँछ। यसले आँसु माग्दैन, आत्मपरीक्षण माग्छ। यसले अमेरिका पुग्ने सपना देखाउँदैन,आफ्नै माटोको अर्थ पुनः खोज्न बाध्य बनाउँछ।

उपन्यासले मानिसको सबैभन्दा ठूलो विस्थापन भूगोलबाट होइन, आफ्नै आत्माबाट हुन्छ भन्ने गहिरो सत्य उद्घाटित गर्छ। जब सपना वास्तविकताभन्दा ठूलो हुन्छ, मानिसले बाटो गुमाउँछ। जब पहिचानभन्दा डलर ठूलो हुन्छ, ऊ आफ्नो जरा काट्न थाल्छ। र जब विकासको परिभाषा केवल विदेश पुग्नुमा सीमित हुन्छ, राष्ट्रले आफ्ना सबैभन्दा सक्षम युवालाई आफ्नै आँखाअघि हराइरहेको हुन्छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।