झापामा ५३.४४ ग्राम खैरो हेरोइन सहित दुई जना पक्राउ
झापा, साउन २३ गते । झापाको मेचीनगरबाट ५३.४४० ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन्।
लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका–८ बाट उनीहरूलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार सिटी सफारीभित्र बसेर खैरो हेरोइन खरिद–बिक्री गरिरहेको अवस्थामा उनीहरू पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा मेचीनगर नगरपालिका–११ का २३ वर्षीय सोमनाथ राजवंशी र मोरङको पथरी शनिश्चरे नगरपालिका–५ का २४ वर्षीय गणेश चौधरी रहेका छन्।
प्रहरीले उनीहरूको साथबाट ५३.४४० ग्राम खैरो हेरोइन, दुई थान मोबाइल फोन र प्रदेश १–०१–००२ ह ३५६९ नम्बरको सिटी सफारी बरामद गरेको छ।
पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि इलाका प्रहरी कार्यालय काँकरभिट्टा, झापामा बुझाइएको लागूऔषध नियन्त्रण ब्यूरोले जनाएको छ।


