विराटनगरबाट एक सय ग्रामभन्दा बढी खैरो हेरोइन सहित एक जना पक्राउ
काठमाडौँ । मोरङको विराटनगरबाट प्रहरीले १०० ग्राम ६०० मिलिग्राम खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरेको छ।
लागूऔषध नियन्त्रण ब्यूरोका अनुसार साउन २३ गते शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरी टोलीले लागूऔषध कारोबारमा संलग्न गिरोहको निगरानी गर्ने क्रममा विराटनगर महानगरपालिका–१५ मा लागूऔषध खैरो हेरोइन बिक्री गरिरहेको अवस्थामा एक जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१५ का ३१ वर्षीय महमद हुसेन रहेका छन्।
उनको साथबाट १०० ग्राम ६०० मिलिग्राम खैरो हेरोइन र एउटा मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका हुसेनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि इलाका प्रहरी कार्यालय रानी, मोरङमा बुझाइएको लागूऔषध नियन्त्रण ब्यूरोले जनाएको छ।


