सङ्खुवासभामा खोलाले बगाएर बेपत्ता भएका हाइड्रोपावरका सुपरभाइजर मृत फेला
सङ्खुवासभा । सिमली खोलाले बगाएर तीन दिनदेखि बेपत्ता रहेका इदुवा हाइड्रोपावरका सुपरभाइजर मृत अवस्थामा फेला परेका छन्।
मकालु गाउँपालिका–५ पाकपोकस्थित सिमली खोलाले बगाएका खाँदबारी नगरपालिका–१० निवासी २८ वर्षीय स्वागत निरौलाको शव शुक्रबार फेला परेको हो।
जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीका अनुसार निरौलाको शव खोलाले बगाएको स्थानदेखि करिब ८० मिटर तल खोचभित्र फेला परेको हो।
निरौला साउन २० गते राति करिब ११ बजे मकालु गाउँपालिका–५ पाकपोक क्षेत्रमा रहेको सिमली खोला तर्ने क्रममा खोलाले बगाएर बेपत्ता भएका थिए।
घटनालगत्तै नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरी उनको खोजी सुरु गरिएको थियो। निरन्तरको खोजीका क्रममा तीन दिनपछि शव फेला परेको प्रहरीले जनाएको छ।


