कपिलवस्तुमा पेस्तोल सहित तीन जना पक्राउ
कपिलवस्तु । गाउँघरमा डर, धम्की देखाउँदै पेस्तोल बोकेर हिँडेको आरोपमा कपिलवस्तुबाट तीन जना पक्राउ परेका छन् ।
कृष्णनगर नगरपालिका–८ बहादुरगन्जका स्थानीयलाई डर, धम्की देखाउँदै पेस्तोलसहित हिँडिरहेको सूचना पाएपछि प्रहरीले खोजी थालेको थियो । सोही क्रममा विजयनगर गाउँपालिका–४ जगदिशपुरबाट उनीहरूलाई पेस्तोलसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा कृष्णनगर नगरपालिका–५ डबराका २३ वर्षीय आषिश पाण्डे, कृष्णनगर–८ दयानगरका २१ वर्षीय जितेन्द्र मौरिया र सोही स्थानका १९ वर्षीय विनोद कश्यप रहेका छन् ।
प्रहरीले उनीहरूको साथबाट एक थान पेस्तोल र लु.६१ प.७०७२ नम्बरको १२५ सीसीको मोटरसाइकल बरामद गरेको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

