घरभित्र लुकाइराखेको पेस्तोल र म्यागजिन बरामद,एक जना पक्राउ
मकवानपुर । मकवानपुरको बागमती गाउँपालिका–९ बेतिनी अगौटेमा घरभित्र लुकाइराखेको अवस्थामा एक थान पेस्तोल र त्यसको म्यागजिन बरामद भएको छ।
विशेष सूचनाका आधारमा सोमबार प्रहरीले बागमती गाउँपालिका–९ बेतिनी अगौटेस्थित एक घरमा चेकजाँच गरेको थियो। चेकजाँचका क्रममा स्थानीय १९ वर्षीय टेकबहादुर सिङतानको घरबाट पेस्तोल बरामद भएको हो।
बालुवा–सिमेन्टले बनेको जस्ताले छाएको दुईतले घरको माथिल्लो तलाको चोटामा रहेको जेब्रा झोलाभित्र रातो टी–सर्टले बेरेर रातो प्लास्टिकमा लुकाइराखेको अवस्थामा ‘No. 017110’ लेखिएको एक थान पेस्तोल र त्यसको एक थान म्यागजिन फेला परेको प्रहरीले जनाएको छ।
घटनामा संलग्न रहेको आरोपमा १९ वर्षीय टेकबहादुर सिङतानलाई पक्राउ गरिएको छ। उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

