कोशीमा लागुऔषध ब्राउन सुगर सहित ६ जना पक्राउ
विराटनगर, साउन २५ गते । मोरङ, झापा र सुनसरीबाट प्रहरीले लागुऔषध ब्राउन सुगरसहित ६ जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार साउन २४ गते मोरङको सुनवर्षी नगरपालिका–८ मा प्रहरी चौकी सिक्टीबाट खटिएको टोलीले चेकजाँच गर्ने क्रममा उर्लाबारी नगरपालिका–२ का ३२ वर्षीय प्रेमबहादुर नेपाली र २५ वर्षीय सुजन धिमाललाई २ ग्राम २७० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो।
त्यस्तै, प्रहरी चौकी रमाइलो, मोरङबाट खटिएको टोलीले लेटाङ नगरपालिका–३ का ३८ वर्षीय टंकप्रसाद राईलाई ३ ग्राम २५० मिलिग्राम ब्राउन सुगर र प्र.१–०२–०४३ प ९९१६ नम्बरको स्कुटरसहित नियन्त्रणमा लिएको छ।
यसैगरी, झापाको भद्रपुर नगरपालिका–५ बाट वडा प्रहरी कार्यालय भद्रपुर र सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म भद्रपुरबाट खटिएको संयुक्त टोलीले विराटनगर महानगरपालिका–६ घर भई हाल बिर्तामोड नगरपालिका–३, बिर्ताबजारमा बस्दै आएका ३० वर्षीय संजिव सहनीलाई पक्राउ गरेको छ। उनको साथबाट ४ ग्राम ९३ मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ।
यस्तै, सुनसरीको इटहरी उपमहानगरपालिका–२, पशुपति चोकबाट कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रादेशिक अनुसन्धान समूह र इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको संयुक्त टोलीले दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मोरङ मिर्गौलिया–९ का ३२ वर्षीय सुमन कार्की र इटहरी उपमहानगरपालिका–२ का २१ वर्षीय संजिप पौडेल रहेका छन्। उनीहरूलाई चेकजाँच गर्ने क्रममा ७१० मिलिग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ।
पक्राउ परेका सबै जनामाथि सम्बन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

