कतारबाट मानव बेचबिखन तथा जबरजस्ती करणीका फरार प्रतिवादी पक्राउ
काठमाडौ । मानव बेचबिखन तथा ओसारपसार र जबरजस्ती करणीसम्बन्धी कसूरमा फरार रहेका धनुषाका एक प्रतिवादीलाई कतारबाट पक्राउ गरी नेपाल ल्याइएको छ।
धनुषाको धनौजी गाउँपालिका–५ निवासी मो. ताहिर राईन उक्त कसूरमा संलग्न रहेको आरोपमा अनुसन्धानका क्रममा वारदातपछि फरार भएका थिए। उनी फरार भएपछि नेपाल प्रहरीले अन्तर्राष्ट्रियस्तरमा खोजतलास तथा पक्राउका लागि इन्टरपोलमार्फत रेड नोटिस जारी गर्न प्रक्रिया अघि बढाएको थियो।
नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागअन्तर्गतको इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयले सन् २०२६ जुलाई २८ मा राईनविरुद्ध रेड नोटिस जारी गरेको थियो।
रेड नोटिस जारी भएपछि इन्टरपोल शाखा (एनसीबी काठमाडौं) र एनसीबी दोहा, कतार बीच भएको समन्वयका आधारमा राईनलाई कतारमा पक्राउ गरिएको हो।
पक्राउ परेका राईनलाई कतारबाट कतार एयरवेजको उडानमार्फत सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याइएको थियो। विमानस्थलमा इन्टरपोल शाखा (एनसीबी काठमाडौं) बाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको थियो।
प्रहरीका अनुसार आवश्यक कानुनी कारबाहीका लागि राईनलाई जिल्ला प्रहरी कार्यालय धनुषा पठाइएको छ।

