हुम्ली जनता अन्धकारमा: सरकारलाई सोध्छन्- ‘के हामी नेपाली होइनौँ?’

सुर्खेत, २० भदौ । हुम्ला जिल्लाको सदरमुकाम सिमकोट लगायतका अधिकांश गाउँहरू भदौ १६ गतेदेखि अन्धकारमय बनेका छन्।

 

विद्युत उत्पादन गर्ने मेसिनमा खराबी आएपछि भदौ १६ देखि विद्युत उत्पादन अवरुद्ध भएको हो। यससँगै हुम्ला फेरि अनिश्चितकालका लागि अन्धकार बनेको छ।

 

जिल्ला सदरमुकाम सिमकोट र खार्पुनाथमा विद्युत आपूर्ति गर्दै आएको ५०० किलोवाट क्षमताको हिल्दुम साना जलविद्युत आयोजना (पावरहाउस) को युनिट–१ को गभर्नरमा समस्या आउँदा विद्युत सेवा पूर्ण रूपमा ठप्प भएको हो। विद्युत अवरुद्ध भएपछि स्थानीयवासी अन्धकारमा बस्न बाध्य भएका छन् भने जिल्ला अस्पतालजस्ता अति संवेदनशील क्षेत्रको सेवा प्रभावित हुने जोखिम बढेको छ।

 

जिल्ला अस्पताल हुम्लामा भने सोलार सिस्टम रहेकाले हाललाई सेवा प्रवाहमा समस्या नरहेको, तर धेरै दिनसम्म घाम नलागेमा कठिनाइ हुनसक्ने अस्पतालका सूचना अधिकारी छिरिङ युङडुङ लामाले जानकारी दिए।

 

हुम्लामा हालसम्म नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रसारण लाइन पुग्न सकेको छैन। मुगुसम्म पुगेको राष्ट्रिय प्रसारण लाइनको पोल गाडेर सिमकोटसम्म पुर्‍याइए पनि तार तान्न बाँकी नै छ। तार तान्न मात्र कम्तीमा तीन महिना लाग्ने भएकाले वैकल्पिक उपाय अवलम्बन नगरे हुम्लावासी लामो समय अन्धकारमै बस्नुपर्ने बाध्यता छ।

 

आयोजनाका कार्यालय प्रमुख जितेन्द्र शाहले तत्काल विद्युत उपलब्ध गराउनसक्ने सम्भावना नरहेको बताए। उनले बिग्रिएका पार्टपुर्जा नपाइएको र सामान नभएसम्म विद्युत आपूर्ति सहज नहुने भन्दै सूचना जारी गरिसकिएको जानकारी दिए।

 

"युनिट–१ को गभर्नरले काम नगरेकाले १६ गतेदेखि विद्युत आपूर्ति पूर्ण रूपमा बन्द भएको छ। हामी बिग्रिएका पार्टपुर्जाको खोजी गरिरहेका छौँ," उनले भने, "मेसिन धेरै पुरानो भएकाले यसका पार्टपुर्जाहरू पाउन छाडिएको छ, जसले गर्दा समस्या थप जटिल बनेको छ।"

 

हुम्लामा विद्युत आपूर्तिका लागि १०० केभी र १२५ केभीका दुईवटा जेनेरेटरसमेत छन्। ती जेनेरेटर एक घण्टा चलाउँदा ८० लिटर डिजेल खपत हुने शाहले बताए। "यहाँ एक लिटर डिजेलको २५० रुपैयाँ पर्छ। दिनको तीन घण्टा मात्र जेनेरेटर चलाउँदा दैनिक २४० लिटर डिजेल चाहिन्छ। यस हिसाबले महिनाको ७ हजार २ सय लिटर डिजेल खपत भई मासिक १८ लाख रुपैयाँ खर्च हुन्छ, जुन रकम हामी धान्न सक्दैनौँ," उनले भने, "डिजेल उपलब्ध गराइएको खण्डमा जेनेरेटरबाट विद्युत सेवा सुचारु गर्न सकिन्छ।"

 

यसैबीच पूर्वमुख्यमन्त्री एवं नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले हुम्लावासीलाई सधैँ अन्धकारमा राख्न नहुने बताएका छन्। "सधैँ यो वा त्यो बहानामा हुम्लावासीलाई अध्याँरोमा राख्न पाइँदैन। जसरी हुन्छ विद्युत प्राधिकरणले सेवा सुचारु गर्नुपर्छ," उनले भने, "राज्यले कि त हुम्ली जनता यस देशका नागरिक नै होइनन् भन्नुपर्‍यो, होइन भने तत्काल विद्युत सेवा सुरु गर्नुपर्छ।"

 

विद्युत सेवा अवरुद्ध हुँदा जिल्लाका वित्तीय संस्था, बैङ्क, सञ्चारमाध्यम तथा व्यावसायिक क्षेत्र प्रभावित भएका छन् भने सर्वसाधारणले मोबाइल फोनसमेत चार्ज गर्न पाएका छैनन्।

 

यस विषयमा प्रतिक्रिया लिन खोज्दा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रवक्ता मोहनकुमार शाक्य र सूचना अधिकारी राजु महर्जनसँग टेलिफोन सम्पर्क हुन सकेन।

 

सामान्य पाटपुर्जा बिग्रिँदा पनि पटक-पटक अन्धकारमा बस्नुपर्ने नियति भोगेका हुम्ली जनता प्रश्न गर्छन्– "के हामी नेपाली होइनौँ?"

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।