चोरीको खसी बेच्ने र किन्ने दुबै पक्राउ

सञ्जय मिश्रा,रौतहट । रौतहटको कटहरिया बजारमा खसी चोरीको एउटा घटनाले चोरी गर्नेभन्दा चोरीको सामान खरिद गर्ने पक्षको भूमिकामाथि समेत प्रश्न उठाएको छ। चोरीको खसी खरिद–बिक्रीमा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएपछि घटनाले नयाँ मोड लिएको हो।

 

पक्राउ पर्नेमा कटहरिया नगरपालिका–५ का २० वर्षीय मुकेश कुमार राम, १७ वर्षीय रुपेश राम, चोरीको खसी खरिद गरेको आरोप लागेका १८ वर्षीय समीर मन्सुरी र उनका साझेदार ४७ वर्षीय दिनेश दास बानियाँ छन्।

 

प्रहरीका अनुसार मुकेश र रुपेशले स्थानीय सफ्रुला भनिने सफरुदिन मियाँ मन्सुरीको करिब १५ देखि २० किलो तौलको खसी बुधबार राति चोरी गरेका थिए। चोरी गरिएको उक्त खसी समीर र दिनेशलाई १३ हजार रुपैयाँमा बिक्री गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

 

खसी चोरी भएको थाहा पाएपछि पीडित सफ्रुलाले खोजी गर्दै जाँदा मुकेश र रुपेशलाई फेला पारेका थिए। त्यसपछि उनीहरूलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय कटहरियामा बुझाइएको थियो।

 

पक्राउ परेका आरोपितसँग सोधपुछ गर्दा चोरीको खसी खरिद गर्ने पक्षको समेत संलग्नता खुलेपछि इलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख वरिष्ठ सई जयप्रकाश साहको टोलीले समीर र दिनेशलाई समेत नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

 

चोर पक्राउ परेपछि ‘मिलाउने’ प्रयास

घटनामा चार जना पक्राउ परेपछि अनुसन्धान अघि बढिरहेका बेला केही बिचौलिया सक्रिय भएको प्रहरी स्रोतको भनाइ छ।

बिचौलियाले चारै जनालाई एकमुष्ट १ लाख २० हजार रुपैयाँ जरिवाना तिराएर गाउँमै मिलापत्र गराउने प्रयास गरेको बताइएको छ। तर, वरिष्ठ सई साहले चोरीजस्तो आपराधिक घटनालाई जरिवाना र मिलापत्रमा सीमित गर्न नमानेको जनाइएको छ।

प्रहरी स्रोतका अनुसार साहको अडानपछि चारै जनालाई थप अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि शनिबार इलाका प्रहरी कार्यालय गरुडामा पठाइएको हो।

‘चोरीको घटना मिलापत्र गरेर आरोपीलाई छाड्दा गलत सन्देश जान्छ। दोषीमाथि कानुनी कारबाही हुनुपर्छ,’ भन्ने अडानसहित साहले आरोपीलाई माथिल्लो निकायमा पठाएको बताइएको छ।

इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी शंकरप्रसाद आचार्यले चोरीको खसी खरिद–बिक्रीमा संलग्न रहेको आरोपमा चार जना नियन्त्रणमा रहेको पुष्टि गरेका छन्।

उनका अनुसार शनिबार साँझसम्म पीडित पक्षबाट औपचारिक जाहेरी प्राप्त भएको थिएन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

चोरीभन्दा ठूलो समस्या ‘खरिद गर्ने बजार’ ?

कटहरिया र आसपासका क्षेत्रमा खसी–बोका चोरीका घटना बढ्दै गएको स्थानीयको गुनासो छ। स्थानीयका अनुसार चोरीको सामान सजिलै बिक्री हुने वातावरण रहँदा चोरी गर्नेहरूलाई प्रोत्साहन पुग्ने गरेको छ।

यस्ता घटनामा चोरी गर्ने व्यक्ति मात्र नभई चोरीको सामान खरिद गर्ने व्यक्ति र त्यसलाई संरक्षण वा मिलापत्र गराउन खोज्ने बिचौलियाको भूमिकामाथि समेत अनुसन्धान आवश्यक रहेको स्थानीयको भनाइ छ।

चोरीको सामान खरिद गर्ने पक्षलाई कारबाही नहुने हो भने चोरीको शृंखला रोक्न कठिन हुने उनीहरू बताउँछन्। अर्कोतर्फ, घटना सार्वजनिक भएपछि आर्थिक जरिवाना वा गाउँमै मिलापत्र गरेर कानुनी प्रक्रिया टार्ने प्रवृत्तिले अपराध नियन्त्रणमा चुनौती थप्ने स्थानीयको बुझाइ छ।

त्यसैले कटहरियाको यो घटनाले एउटा खसी चोरीको विषय मात्रै होइन, चोरीको सामान किन्ने–बेच्ने सञ्जाल र त्यसलाई गाउँमै मिलाउने प्रवृत्तिमाथि समेत प्रश्न उठाएको छ।

स्थानीयले चोरी तथा चोरीको सामान खरिद–बिक्रीमा संलग्न सबै पक्षमाथि निष्पक्ष अनुसन्धान गरी दोषी देखिए कानुनी कारबाही गर्न प्रहरी प्रशासनसँग माग गरेका छन्।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।