अपडेट : इलाममा अटो दुर्घटना हुँदा आमा–छोरीको मृत्यु
इलाम । इलामको फाकफोकथुम गाउँपालिका–६ हाङ्मासुलीमा अटो दुर्घटना हुँदा आमा–छोरीको मृत्यु भएको छ।
मृत्यु हुनेमा फाकफोकथुम गाउँपालिका–६ की २७ वर्षीया कविता श्रेष्ठ र उनकी करिब ८ वर्षीया छोरी सुस्मिता श्रेष्ठ रहेका छन्। जिल्ला प्रहरी कार्यालय इलामका अनुसार दुर्घटनामा घाइते भएका उनीहरूको उपचारका क्रममा झापास्थित बी एन्ड सी अस्पतालमा मृत्यु भएको हो।
शुक्रबार साँझ पोखरी–कमेरे भित्री कच्ची सडकखण्डमा मधेश प्रदेश ०३–००३ ह ६९६७ नम्बरको अटो अनियन्त्रित भई सडकबाट करिब दुई मिटर तल खसेको थियो। अटो सडकबाट खसेपछि आगलागीसमेत भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा अटो चालकसहित ६ जना घाइते भएका थिए। घाइतेमध्ये कविता र उनकी छोरी सुस्मिताको उपचारका क्रममा मृत्यु भएको हो।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।

