गैंडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते
नवलपरासी (बर्दघाट सुस्ता पूर्व) । गैंडाकोट नगरपालिका–१२ हर्कपुरमा दुई वटा बस एकआपसमा ठोक्किँदा १८ जना घाइते भएका छन्।
शनिबार बिहान करिब ६ः५० बजे पूर्व–पश्चिम राजमार्गअन्तर्गत हर्कपुरमा नारायणगढबाट बुटवलतर्फ जाँदै गरेको लु.२ ख ६४५७ नम्बरको बसलाई सोही दिशातर्फ जाँदै गरेको लु.२ ख ६०३६ नम्बरको बसले पछाडिबाट ठक्कर दिएको हो।
दुर्घटनामा दुवै बसमा सवार १८ जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको पुरानो चितवन मेडिकल कलेज र ७ जनाको नयाँ चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
पुरानो चितवन मेडिकल कलेजमा उपचाररत घाइतेमा कालैया उपमहानगरपालिका–९ बाराका ६० वर्षीय मोहन भैया साह, भरतपुर महानगरपालिका–२ की ३१ वर्षीया निशा तिवारी र उनका करिब ८ वर्षीय छोरा ऐट्रेन भट्ट, दाङका करिब ५५ वर्षीय निमलाल खड्का र उनकी ५५ वर्षीया श्रीमती अमृता खड्का, रुपन्देही मायादेवी गाउँपालिका–६ का ५७ वर्षीय मनोज गुरुङ र उनकी ५१ वर्षीया श्रीमती हुमा गुरुङ, गैंडाकोट–५ का ५२ वर्षीय प्रेमबहादुर रानाभाट तथा गैंडाकोट–६ की करिब ४३ वर्षीया मिरा आचार्य रहेका छन्।
नयाँ चितवन मेडिकल कलेजमा उपचाररत घाइतेमा लु.२ ख ६०३६ नम्बरको बसका चालक भरतपुर–४ का ४७ वर्षीय सन्तोषबहादुर गुरुङ, गैंडाकोट–७ की १२ वर्षीया आत्रिया पौडेल, गैंडाकोट–१५ की ४० वर्षीया माधवा ज्ञवाली, गोरखाका ३५ वर्षीय शंकर बयलकोटी, गैंडाकोट–२ की ३८ वर्षीया सीता ज्ञवाली, उनकी ११ वर्षीया छोरी जस्विन ज्ञवाली र चितवन रत्ननगर–२ की १० वर्षीया दिभा रानाभाट रहेका छन्।
यस्तै, लु.२ ख ६४५७ नम्बरको बसमा सवार कालिकोट तिलागुफा नगरपालिका–३ का करिब ३६ वर्षीय धनमान हमाल र गैंडाकोट–५ की करिब ६० वर्षीया लीला थापाको पुरानो चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ।
दुर्घटनामा घाइते सबैलाई उपचारका लागि भरतपुर पठाइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

