संखुवासभामा घरमा लुकाइछिपाई राखेको तीन नाल भरुवा बन्दुक सहित एक जना पक्राउ
संखुवासभा । संखुवासभाको मादी नगरपालिका–४ पुरानो गाउँबाट प्रहरीले तीन नाल भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ।
बिना इजाजतपत्र भरुवा बन्दुक लुकाइछिपाइ राखेर प्रयोग गर्ने गरेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय चैनपुर र प्रहरी चौकी मंगलबारेबाट खटिएको प्रहरी टोलीले मादी नगरपालिका–४ पुरानो गाउँस्थित ४२ वर्षीय कुलबहादुर जिमिको घरमा कानुनी प्रक्रिया पूरा गरी खानतलासी गरेको थियो।
खानतलासीका क्रममा घरमा लुकाइछिपाइ राखिएको अवस्थामा तीन नाल भरुवा बन्दुक फेला परेपछि प्रहरीले बरामद गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।
प्रहरीले जिमिलाई भदौ २६ गते नियन्त्रणमा लिएको हो। उनीविरुद्ध हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा इलाका प्रहरी कार्यालय चैनपुरबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

